प्रसाईं विरूद्ध पर्सा जिल्ला अदालतमा दुई वटा कसुरमा मुद्दा दर्ता

काठमाण्डौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सोमबार जिल्ला सरकारी वकिलको कार्यालय पर्साले प्रसाईंविरूद्ध दुई वटा कसुरमा अदालतमा मुद्दा दर्ता गरेको हो। कार्यालयका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ताका अनुसार प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ र राज्यविरूद्धको कसुरमा मुद्दा दर्ता भएको हो। सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले जेठ ८ गते प्रसाईंलाई हिरासतमा राख्नलाई थप म्यान नलिन प्रहरीका नाममा आदेश दिएको थियो। उनको मुद्दाको अनुसन्धान सकिएमा दर्ता गर्न र नसकिएको अवस्थामा भने छाडेर जेजस्तो कारबाही गर्नुपर्ने हो त्यसलाई अघि बढाउन आदेश दिएको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदिपराज पाठकले सर्वोच्चको आदेश अनुसार नै अनुसन्धान सकेर प्रतिवेदन बुझाइसकेको बताए। ‘सर्वोच्चको आदेश अनुसार प्रतिवेदन बुझाएका हौं। प्रहरीले जेठ ४ गते प्रसाईंलाई पक्राउ गरेको थियो। उनलाई जेठ ५ गते तीन दिनका लागि म्याद थप भएको थियो। दोस्रो पटक जेठ ७ गते चार दिनका लागि म्याद थप भएको थियो। यो समय सकिएको हो। प्रहरीले प्रसाईंलाई उनले दिने अभिव्यक्तिकै कारण पटकपटक पक्राउ गर्दै आएको छ।











