टिपरले ठक्कर दिँदा बिते मोटरसाइकलमा सवार बाबु-छोरा

दाङको तुलसीपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। सोमबार बिहान साढे ५ बजेतिर रा १ ख २१९२ नम्बरको टिपरले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई गुल्म चोकमा ठक्कर दिएको थियो। तीन जना सवार मोटरसाइकललाई टिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो। अर्की एक महिला घाइते छिन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार मोटरसाइकल चालक लमही ५ का ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराजको उपचार क्रममा मृत्यु भएको हो।

नेपालगन्जस्थित संजिबनी कलेज अफ मेडिकल साइनसेजमा बिहान ९ः४० बजे मिनराज र १०ः२ बजे मनोजलाई चिकित्सकले मृत घोषणा गरेका थिए। मनोजकी श्रीमती ३४ वर्षीया अनुसा नेपाली घाइते छिन्। उनको उपचार भइरहेको डिएसपी पराजुलीले बताए। डिएसपी पराजुलीका अनुसार उनीहरू बिदा परेकाले तुलसीपुर ६ स्थित ससुराली आएका थिए। आज छोरालाई विद्यालय पठाउनुपर्ने भएकाले उहाँहरू बिहानै घर हिँड्नु भएको रहेछ। केही बेरमै दुर्घटनामा पर्नुभएछ, डिएसपी पराजुलीले भने। दुर्घटना लगतै गम्भीर घाइते बाबु छोरालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पछि थप उपचारका लागि बाँकेको नेपालगंज रिफर गरिएको थियो। प्रहरीका अनुसार सुरुमा छोरालाई र त्यसपछि बाबुलाई बाँकेको नेपालगंजका लागि रेफर गरिएको थियो । टिपर चालक इप्रका तुलसीपुरको प्रहरी नियन्त्रणमा छन्। घटना बारे थप अनुसन्धान हुने जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *