युनिग्लोब कलेजले गर्‍यो विजय स्मारक माविलाई २ लाखभन्दा बढीको फर्निचर सहयोग

काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजले विजय स्मारक माध्यमिक विद्यालयलाई झन्डै २ लाख रुपैयाँभन्दा बढीको फर्निचर सहयोग गरेको छ । कलेजले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत पठनपाठनलाई थप सहज, आधुनिक र आरामदायी बनाउने गरी विजय स्मारक माविलाई ८८ सिट क्षमताका २० थान डेस्क बेन्च सहयोग गरेको हो । युनिग्लोब कलेज परिसरमा एक विशेष समारोहकाबीच कलेजका पदाधिकारीले विद्यालयलाई ती फर्निचर हस्तान्तरण गरे । कलेजले प्रदान गरेको फर्निचर ग्रहण गर्दै विजय स्मारक माविका प्राचार्य माधवप्रसाद ओलीले सहयोगप्रति विशेष आभार व्यक्त गरे । विद्यालयमा विद्यार्थीका लागि सजिलो र आरामदायी बस्ने व्यवस्थाको अभाव भइरहेका बेला कलेजले गरेको यो सहयोग निकै समयसान्दर्भिक र उपयोगी रहेको उनले बताए ।

‘विद्यालयमा विद्यार्थीहरूका लागि आरामदायी सिटको अभाव भइरहेका थियो । यही बेला युनिग्लोब कलेजले प्रदान गरेका यी ८८ सिट क्षमताका डेस्क बेन्चहरूले दैनिक शिक्षण सिकाइमा अत्यन्तै महत्त्वपूर्ण योगदान पुर्‍याउने छ भन्ने विश्वास लिएका छौँ,’ प्राचार्य ओलीले भने । यस्तै, कार्यक्रममा बोल्दै युनिग्लोब कलेजका जनरल म्यानेजर गणेश भट्टले कलेजले आफ्नो सामाजिक जिम्मेवारीलाई सधैँ उच्च प्राथमिकतामा राखेको बताए । उनले भने, ‘हाम्रो मूल ध्येय आफू मात्र अघि बढ्ने होइन, समुदायमा रहेका अन्य विद्यालयहरूलाई समेत साथैमा लिएर शैक्षिक विकासको यात्रामा सँगसँगै अगाडि बढ्नु हो ।’ कलेजका इन्स्टिच्युसनल अफेयर्स हेड बसन्त घिमिरेले निजी र सार्वजनिक विद्यालय प्रतिस्पर्धी मात्र नभएर शैक्षिक रूपान्तरणका साझेदार बन्नुपर्ने धारणा राखे । ‘निजी तथा सार्वजनिक विद्यालयहरूबीच आपसी समझदारी, सद्भाव र सहयोगको भावना वृद्धि गर्दै एकअर्काको उन्नति र प्रगतिमा हातेमालो गर्न आवश्यक छ,’ घिमिरेले भने, ‘आगामी दिनहरूमा समेत सरकारी तथा सार्वजनिक विद्यालयहरूसँग विभिन्न किसिमका प्राज्ञिक एवं रचनात्मक सहकार्य गर्न युनिग्लोब कलेज सदैव तत्पर र इच्छुक रहेको छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *