बिरामीबाट कर उठाउनु जायज होइन : डा. दवाडी, महासचिव एनएमए
नेपाल चिकित्सक संघले निजी अस्पतालमा प्रदान गरिने स्वास्थ्य सेवामा अतिरिक्त ३ प्रतिशत ‘समता कर’ लगाउने सरकारको निर्णयको कडा विरोध गरेको छ। संघले बिरामीमाथि थप आर्थिक भार पार्ने गरी गरिएको यस्तो निर्णय कुनै पनि दृष्टिकोणले न्यायोचित नभएको जनाएको छ। नेपाल चिकित्सक संघका महासचिव डा. विश्वराज दवाडीले स्वास्थ्य उपचार जस्तो संवेदनशील क्षेत्रमा करको भार थपिनु उचित नभएको बताए। उनका अनुसार सरकारले निजी अस्पतालमा उपचार गराउने बिरामीबाट अतिरिक्त कर असुल्ने निर्णय गर्दा उपचार खर्च अझ महँगो हुने मात्र नभई स्वास्थ्य सेवाप्रति नकारात्मक सन्देश पनि जानेछ। डा. दवाडीले चिकित्सक संघले यस विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको जानकारी दिँदै निर्णय फिर्ता नभए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिए। “स्वस्थ व्यक्तिबाट कर उठाउने विषय अलग हुन सक्छ, तर बिरामी अवस्थामै रहेका नागरिकमाथि थप कर लगाउनु कुनै पनि हालतमा जायज हुँदैन, “यो निर्णय फिर्ता गराउन नेपाल चिकित्सक संघ अन्तिमसम्म संघर्ष गर्न तयार छ।”
सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटमार्फत निजी अस्पतालमा प्रदान गरिने स्वास्थ्य उपचार सेवामा थप ३ प्रतिशत समता कर लगाउने व्यवस्था प्रस्ताव गरेको छ। यस व्यवस्थाअनुसार बिरामीले उपचार सेवा लिँदा लाग्ने शुल्कमा विद्यमान १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) सहितको रकममा थप ३ प्रतिशत समता कर तिर्नुपर्ने अवस्था सिर्जना हुनेछ। स्वास्थ्य क्षेत्रका सरोकारवालाले यस निर्णयले निजी अस्पतालमा उपचार गराउने सर्वसाधारणको खर्च उल्लेखनीय रूपमा बढ्ने बताएका छन्। यसअघि पनि विभिन्न सरकारले उपचार सेवामा अतिरिक्त कर लगाउने प्रयास गरेका थिए। तत्कालीन समयमा स्वास्थ्य क्षेत्रका पेशागत संस्था, सरोकारवाला निकाय तथा नागरिकस्तरबाट व्यापक विरोध भएपछि ती निर्णयहरू फिर्ता भएका थिए। यसपटक पनि चिकित्सक संघले सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रह गर्दै बिरामीमाथि थप आर्थिक बोझ नथोपर्न चेतावनी दिएको छ।
















