भारतसँगको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सक्छौँ : परराष्ट्रमन्त्री खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँगको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने बताएका छन् । भारतको तीनदिने भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । “सीमालगायत सबै द्विपक्षीय विषयमा छलफल गर्यौं । दुई देशको संयन्त्रले सीमामा काम गरिरहेको छ । कालापानी लिपुलेक हुँदै मानसरोवर जाने बाटो भारत र चीनले खोलेको भनेपछि हामीले कूटनीतिक नोट पठाएको हो । भारतले पनि जवाफ पठाएको हो । वार्ता र संयन्त्रहरूले सुल्झाउने भन्ने हो सीमा विवाद । संयन्त्रहरूले काम गर्न थालेका छन् । अन्य संयन्त्रलाई पनि एक्टिभेट गर्दै एउटा कूटनीतिक ढंगले समाधान गर्ने ढंगमा हाम्रो छलफल भएको छ,” परराष्ट्रमन्त्री खनालले भने ।
सीमा समस्याको विश्व इतिहास हेर्दा पनि समाधान गर्न लामो समय लाग्ने देखिएको उनले जनाए । भारतसँगको सीमा विवादमा आफ्ना अडानमा नेपाल स्पष्ट रहेको उनले बताए । हामी ऐतिहासिक प्रमाणको आधारमा सीमाका विषयहरूलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सक्छौँ, सक्नुपर्छ भन्ने कुरा हामीले स्पष्टसँग राखेका छौँ । यदि नेपाल र भारत नै पनि एक ठाउँमा बसेर छलफल गर्न सक्दैनन् भने विश्वका अन्य राष्ट्रहरू को नै होलान् र । त्यसैले कस्ता देशहरू त अप्ठेरो पर्दा वार्तामा बसेर समस्याको हल निकाल्न सक्छन् भने । पक्कै पनि नेपाल सरकार आफूलाई सक्षम मान्छ । वार्तामा बसेर आफ्ना कुराहरू स्पष्टसँग राख्न र आफ्ना तर्कहरूको आधारमा हाम्रा बीचमा रहेका हरेक खाले समस्या समाधान गर्न उत्सुक छौँ, तयार छौँ भन्ने कुरा मैले भारतमा राखेँ । परराष्ट्रमन्त्री खनालले कूटनीतिक माध्यबाट समस्याहरूको समाधान गर्ने दाबी पनि गरे ।
















