संसद् बैठक आज बस्दै
काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनेलगायत कार्यसूची छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची राखिएको लामो समय भए पनि यसमा विषय प्रवेश नै हुन सकेको छैन । भारतीय सीमा नेपालले मिचेको भन्दै सदनमा प्रधानमन्त्री बालेन साहले अभिव्यक्ति दिएसँगै प्रतिनिधिसभाको बैठक प्रतिपक्षी दलका सांसदहरूले लगातार अवरुद्ध गर्दै आएका छन् । त्यसैले आजको बैठक पनि सहज ढंगले चल्ने,नचल्ने अनिश्चित छ । तर, रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेनलाई भेटेर सदनमा रहेको गतिरोध फुकाउन सर्वदलीय बैठक बोलाएका छन् । संसद् बैठक सुरु हुनुभन्दा दुई घण्टाअगाडि रविले सर्वदलीय बैठक बोलाएका छन् ।















