इजरायलमाथि इरानको आक्रमण

काठमाडौं । इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि आफ्नो हवाई क्षेत्रको केही भाग बन्द गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले लेबनानको राजधानी बेरुतमाथि इजरायलले गरेको आक्रमणको जवाफस्वरूप गरिएका पछिल्ला प्रहारहरू केवल ‘चेतावनी’ मात्र भएको जनाएको छ । इरानी सरकारी समाचार एजेन्सी इर्नाका अनुसार राष्ट्रिय नागरिक उड्डयन संगठनका प्रवक्ता मजिद अखभानले सुरक्षा मूल्यांकनका आधारमा अर्को सूचना जारी नभएसम्म देशको पश्चिमी क्षेत्रको हवाई क्षेत्र बन्द गरिएको जानकारी दिएका छन् । सुरक्षालाई ध्यानमा राख्दै इराक र सिरियाले पनि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेका छन् । आईआरजीसीले आइतबार जारी गरेको विज्ञप्तिमा इजरायलविरुद्ध गरिएका हालका आक्रमणहरू सम्भावित थप सैन्य कारबाहीका लागि प्रारम्भिक चेतावनी भएको जनाएको छ । उसले इजरायलले आफ्ना आक्रमण जारी राखेमा क्षेत्रभर रहेका अमेरिकी तथा इजरायली सैन्य र रणनीतिक ठेगानाहरूलाई निशाना बनाइने चेतावनी दिएको छ । इरानको खातम अल–अम्बिया सेन्ट्रल कमान्डका प्रमुख जनरल अली अब्दोल्लाहीले इजरायलले दक्षिणी लेबनान र बेरुतका उपनगरहरूमा आक्रमण रोक्नुपर्ने बताएका छन् । उनले भने, “यदि, इजरायलले आफ्नो सैन्य कारबाही विस्तार गर्‍यो वा इरानको कदमको जवाफ फर्कायो भने उसले अझ विनाशकारी र पछुताउनुपर्ने खालका आक्रमणहरूको सामना गर्नुपर्नेछ ।”
‘इरानी क्षेप्यास्त्रहरू बीचमै रोकियो’
यसैबीच, इजरायली सेनाले आइतबार इरानबाट प्रहार गरिएका दुई चरणका क्षेप्यास्त्र आक्रमणहरू सफलतापूर्वक निष्क्रिय बनाएको दाबी गरेको छ । सामाजिक सञ्जाल ‘एक्स’मा जारी विज्ञप्तिमा इजरायली सेनाले भनेको छ, “इरानबाट हालसम्म प्रहार गरिएका सबै क्षेप्यास्त्रहरूलाई बीचमै रोकिएको छ ।” सेनाले थप क्षेप्यास्त्र प्रहारको सम्भावना रहेको उल्लेख गर्दै हवाई रक्षा प्रणालीहरू निरन्तर सक्रिय अवस्थामा रहेको जनाएको छ । इजरायली सेनाले ती खतराहरूलाई निष्क्रिय बनाउन रक्षा प्रणालीहरू सञ्चालनमा रहेको बताएको छ ।
इजरायलले जवाफी आक्रमण नगर्ने ट्रम्पको आशा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच थप सैन्य तनाव नबढाउन आग्रह गरेका छन् । अनलाइन समाचार माध्यम एक्सियोससँगको संक्षिप्त अन्तर्वार्तामा उनले इजरायललाई थप जवाफी कारबाही नगर्न सुझाव दिने बताएका हुन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको उपनाम प्रयोग गर्दै ट्रम्पले भने, “म अहिले नै बीबीलाई फोन गरेर जवाफी कारबाही नगर्न भन्नेछु ।” उनले पछिल्ला आक्रमणहरूबारे टिप्पणी गर्दै भने, “दुवै पक्षले आफूले गर्न चाहेको गरिसके । इजरायलले आक्रमण गर्‍यो, इरानले पनि जवाफ दियो । अब थप आक्रमणको आवश्यकता छैन ।” उनले भने, “आशा छ इजरायलले फेरि आक्रमण गर्ने छैन । यदि, बीबीले पुनः हमला गरेमा यो प्रतिशोधको शृंखला विगत ४७ वर्षदेखि जस्तै निरन्तर चलिरहनेछ ।” डीडब्ल्यू

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *