बर्दिवासमा महिलाको रहस्यमय मृत्युपछि तनाव

महोत्तरीको बर्दिवास नगरपालिका–१२ विजलपुरामा एक महिलाको रहस्यमय मृत्यु भएपछि शुक्रबार राति मृतकका माइती पक्ष र प्रहरीबीच झडप भएको छ । मृतकका माइती पक्षले हत्या भएको आरोप लगाउँदै ससुराली घरमा तोडफोड तथा आगजनी गरेका थिए । स्थिति नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि मृतकका माइती पक्ष जाइलागेका थिए । सोही क्रममा प्रहरी र मृतकका माइती पक्षबीच झडप भएको हो । स्थानीय रामबाबु सिंहकी बुहारी पिंकी महतो घरभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । गौशाला नगरपालिका–११ कान्तिबजारकी स्थायी बासिन्दा पिंकीको मृत्युको खबर पाएलगत्तै उनका आफन्त तथा माइती पक्षका मानिसहरू ठूलो संख्यामा घटनास्थल पुगेका थिए ।

आक्रोशित समूहले ससुराली घरमा तोडफोड गर्नुका साथै एक कार, एक मोटरसाइकल र एक स्कुटीमा आगजनी गरेका थिए । सुरक्षाकर्मीले समयमै आगो नियन्त्रणमा लिएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ । स्थिति तनावग्रस्त बनेपछि इलाका प्रहरी कार्यालय बर्दिवास तथा सशस्त्र प्रहरी बल नेपाल, बेस क्याम्प पशुपतिनगरबाट थप सुरक्षा टोली परिचालन गरिएको छ । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । पिंकीको मृत्युको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । यद्यपि, मृतकका परिवारजनले ससुराली पक्षबाट लामो समयदेखि यातना दिइएको र घटनामा शंकास्पद अवस्था रहेको आरोप लगाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *