आफूले कुनै पनि हालतमा पार्टी नफुट्ने र फुट्न नदिने : डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता सुरु भएको बताएका छन् । कोइरालाले लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै २०३३ सालमा बीपीले लिएको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता आजको दिनमा झनै बढेर गएको बताए । नेपाली कांग्रेस अब बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट अगाडि बढ्नुको विकल्प नभएको कोइरालाको भनाइ थियो । कोइरालाले भने, नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई मजबुत बनाउन नेपालका सबै शक्तिका बीचमा सहकार्य र एकता जरुरी छ । विराटनगरमा आयोजित कोसी प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले गगन थापासँग कुराकानी गर्दा आफूले पाँचवटा विषयमा कुरा राखेको बताए । उनले भने,सहमति गर्न अहिले के कुराले रोक्यो ? गगन थापाले कोइराला निवासमा पुगेर पार्टीका साथीहरूलाई कारबाहीको धम्की दिएपछि बाध्य भएर आफूले राखेका पाँचबुँदे सार्वजनिक गरेको बताए । सहमतिबिना कांग्रेस पार्टी एक कदम अगाडि बढ्न नसक्ने बताए । उनले भने,गिरिजाप्रसाद कोइरालाले भन्ने गर्नुभएको सहमति, सहकार्य र एकताबाटै हामी हिड्नुपर्छ, त्यसका लागि सहमति, सहकार्य र एकता आफ्नै पार्टीभित्रबाट सुरु गर्नुपर्छ । कोइरालाले आफूले कुनै पनि हालतमा पार्टी नफुट्ने र फुट्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।

















