भाटभटेनीको सहयोग रहेकी शिभाली गुरुङलाई पेनाङमा दोहोरो स्वर्ण
काठमाडौं। भाटभटेनी सुपर मार्केटले प्रायोजन गरेको नेपालकी नम्बर एक टेनिस खेलाडी शिभाली गुरुङले मलेसियाको पेनाङमा सम्पन्न तेस्रो पेनाङ जे ३० आइटीएफ विश्व टेनिस टुर जुनियर्स प्रतिस्पर्धामा दोहोरो स्वर्ण पदक जित्न सफल भएकी छिन्। भाटभटेनी सुपर मार्केट र यसअन्तर्गत रहेका डिर्क एन्ड ब्रोन एन्ड टिप्को, इन्फिनिटी, पेपे पिज्जा र भाटभटेनी होल्टिङ मिलेर शिभालीलाई सहयोग गरेको हो । पेनाङमा जुन ९ देखि १४ तारिखसम्म भएको प्रतिस्पर्धामा उनले जुनियर गर्ल्स सिंगल्समा फिलिपिन्सकी जाना जेलिना निकोल डाइजलाई पराजित गर्दै उपाधि जितेकी हुन् । प्रतियोगितामा उनले क्वार्टर फाइनलमा कोरियाकी रेई योन किमलाई र सेमिफाइनलमा चीनकी यानी क्वीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेकी थिइन् । त्यसैगरी शिभालीले फिलिपिन्सकी उनै जाना जेलिनासँग जोडी बनाएर प्रतिस्पर्धा गर्को गर्ल्स डबल्समा पनि स्वर्ण पदक जित्न सफल भइन् । शिभाली गुरुङ एसियाली टेनिसको आइटीएफ सर्किटमा प्रभाव जमाएकी उदियमान खेलाडी हुन्। पेनाङमा उनले जुनियरतर्फ नम्वर एक वरीयताको हैसियतले सहभागिता जनाएकी हुन् । र, दुईवटा स्वर्ण पदक जितेर उनले आफ्नो वरीयतालाई कायम नै राखेकी छन् । शिभाली गुरुङ अहिले नेपाली टेनिसको शीर्ष वरीयतामा रहन सफल खेलाडी हुन् । नेपाल टेनिस सङ्घले जारी गरेको नयाँ वरीयतामा कुल २८० अङ्क प्राप्त गर्दै शीर्ष वरीयतामा उक्लिएकी हुन् । यो सिजनमा शिभालीले सिटिजन्स बैङ्क ओपन, पोखरा ओपन, मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई टेनिसको उपाधि जितेर आफ्नो दबदबा कायम राखेकी थिइन् । शिवालीले गत जनवरीमा अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न अस्ट्रेलियन ओपनमा सहभागी बन्दै नयाँ इतिहास रचेकी थिइन् । उक्त प्रतियोगिता अन्तर्गत एसिया(प्यासिफिक एलिट १४ एन्ड अन्डर ट्रफी खेलेर नयाँ इतिहास रचेकी थिइन् । १४ वर्षीया शिभालीले प्रतियोगितामा मिश्रित प्रदर्शन गरेकी थिइन् । उनले कूल ५ खेल खेल्दा २ खेल जितिन् भने ३ खेलमा पराजित भएकी थिइन् ।
समूह चरणको खेलमा उपविजेता बन्दै सेमिफाइनलसम्मको यात्रा तय गरेकी उनी सेमिफाइनलमा भने अस्ट्रेलियाकी मुसेम्मा सिलेकसँग पराजित भएपछि फाइनल पुग्नबाट रोकिएकी थिइन् । ६ महिना अगाडि शिभालीले पोखरामा आयोजित वर्ल्ड टेनिस टुर जे ३० मा सर्किट १ मा गर्ल्स तर्फ दोहोरो उपाधि जितेर अर्को इतिहास रचेकी थिइन् । उनले सबैभन्दा कम उमेरमा आइटीएफ जे–३० प्रतियोगिता जित्ने नेपाली खेलाडी बनेर इतिहास रचेकी हुन् । शिभालीलाई भाटभटेनी सुपर मार्केटको सहयोग रहेको । भाटभटेनी सुपर मार्केटसहित यसअन्तर्गत रहेका डिर्क एन्ड ब्रोन एन्ड टिप्को, इन्फिनिटी, पेपे पिज्जा र भाटभटेनी होल्टिङको सहयोग रहेको छ । सम्झौताअनुसार भाटभटेनीले शिभालीको प्रतियोगितादेखि ट्राभल खर्च प्रदान गर्नेछ । जसले शिभालीको खेल अझ उत्कृष्ट हुने भाटभटेनीको विश्वास छ । १३ वर्षको उमेरमै शिभालीले यु १८ नेपाल च्याम्पियनसिपको उपाधि जितिसकेकी छन् । यसैगरी उनी आइटिएफ वर्ल्ड टेनिस टुर जे ३० फाइनलमा पुगेकी खेलाडी हुन् ।
















