गठबन्धनरूपी विकृत युगको साक्षी भयौँ, साझेदार भएनौँ : सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई विकृत युगको संज्ञा दिएका छन्। २०७२ देखि २०८२ साल सम्मको अवधिलाई सभापति थापाले विकृत राजनीतिको युग भनेका हुन्। शुक्रबार नेपाली कांग्रेसको नियमित शृङ्खला ग्रिन टेबलमा सभापति थापाले उक्त विकृत युगको आफूहरू केही हदसम्म साक्षी भए पनि साझेदार नभएको जिकिर गरे। उनले भने, ‘कतिपय सन्दर्भमा हामी विकृत युगको साक्षी भयौँ होला। तर त्यसमा सहभागी कहिल्यै भएनौँ।’ आफूहरूले सुरुदेखि नै राज्य र पार्टीभित्र समेत सुशासनको पक्षमा आवाज उठाउँदै आएको बताउँदै सभापति थापाले सुशासन स्थापना गर्ने लडाइँमा आफूहरू अहिले पनि अडिग रहेको जिकिर गरे। सरकारले आर्थिक अपचलन र भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्ने भनेर सम्पत्ति छानबिन आयोग गठन गरेको विधि र प्रक्रिया नमिलेको उनले बताए। आफूहरू सम्पत्ति छानबिन हुनुपर्छ भन्नेमा प्रस्ट रहेको तर त्यसमा कानुनी विधि–प्रक्रिया मिचिनु हुँदैन भन्नेमा पनि उत्तिकै सचेत रहेको सभापति थापाले बताए। ‘हामी भ्रष्टाचारको विरुद्धमा लडेर आएका हौँ।

तर अहिले सामान्यीकरण गरेर सबै गलत भन्ने भाष्य बनाइँदै छ। हामी यो सफा गर्छौँ। त्यसैका लागि पनि हामीसहित सबैको सम्पत्ति छानबिन गर भन्छौँ। तर त्यो काम विधि र कानुनलाई पछ्याएर हुनुपर्छ। हाम्रो चासो यही हो,’उनले भने। शासकीय सुधारको कानुनी प्रबन्ध नगरेरै सम्पत्ति छानबिनको हतारो गर्दा जनताको सुशासनको चाहना फेरि पनि नतिजामा पुग्दैन कि भन्ने चिन्ता थपिएको थापाले बताए। वैधानिक रूपमा संसद्बाट शक्तिशाली छानबिन आयोग गठन गरेर अघि बढेको भए यसको क्षेत्राधिकार स्पष्ट हुने, काम गर्ने शैली प्रभावकारी हुने तथा त्यसबाट जनतामा विश्वसनीयता अझ धेरै बढ्ने थापाको भनाइ थियो। थापाले आफूहरूले सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरण बुझाउने पनि जानकारी दिए। सभापति थापाले पासपोर्ट काण्डको पनि छानबिन हुनुपर्ने पक्षमा आफू रहेको बताए उनले भने, ‘ पासपोर्ट काण्डबारे छानबिन सुरु भएको भन्ने थाहा भयो। पासपोर्ट काण्ड छानबिन हुनैपर्छ। तर त्यसमा पनि विधि भने पछ्याउनै पर्छ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *