सजिलो साकोसको १५औँ स्थापना दिवस सम्पन्न
चितवनको भरतपुर २३, कृष्णचोकस्थित सजिलो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औँ स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा संस्थाले एक ४५ जना संस्थापक सदस्यहरूलाई सम्मान गरेको छ। संस्थाका अध्यक्ष देवीलाल गौतमको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष दीपक दवाडी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तोयनाथ पौडेल (मणिं) पूर्व अध्यक्ष कृष्ण श्याम गिरी तथा निवर्तमान अध्यक्ष मीन बहादुर परियार विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए । यस्तै, संस्थाको जग बसाल्न योगदान पुर्याउने ४५ जना संस्थापक सदस्यहरूलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो। स्थापना दिवसको अवसरमा शुभकामना दिँदै संस्थापक सदस्यहरू क्रमशः ध्रुव सापकोटा, प्रेम कुमारी अस्लामी, दिलीप न्यौपाने, हुमनाथ गौतम लगायतले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे ।साथै विशिष्ट अतिथिहरूले सजिलो साकोसले सहकारीको मर्मअनुसार हालसम्म गरेको प्रगति र आगामी दिनमा तय गर्ने सफलताको मार्गका लागि शुभकामना व्यक्त गरे। सभापति गौतमले संस्थाको कुल सम्पत्ति २५ करोड पुगेको जानकारी दिए । आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गरिरहेको यस संस्थाले विभिन्न सामाजिक तथा सामुदायिक कार्यहरूमा समेत सक्रिय सहभागिता जनाउँदै आएको छ। संस्था पूर्ण रूपमा नीति, विधि र आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको जानकारी कार्यक्रममा दिइयो। कार्यक्रमका प्रमुख अतिथि एवं वडा अध्यक्ष दीपक दवाडीले सजिलो साकोसको १५औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरे। सम्बोधनका क्रममा उनले सजिलो साकोसले यस क्षेत्रमा रहेका सबै वर्गलाई सहज र सर्वसुलभ तरिकाबाट वित्तीय कारोबारलाई स्थापित गर्दै अझै अगाडि बढ्न उनको आग्रह छ । उनले संस्थाको यो उचाइसम्मको यात्राका लागि भूमिका खेल्ने सम्पूर्ण संस्थापक, वर्तमान पदाधिकारी एवं सेयर सदस्यहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे । कार्यक्रमको सञ्चालन संस्थाका सचिव कर्ण बहादुर विश्वकर्माले गरेका थिए ।
स्थापना दिवसको यस विशेष समारोहले संस्था र सेयर सदस्यहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको र समुदायमा सहकारीको भूमिकालाई अझ मजबुत पारेको विश्वास लिइएको छ। संस्थाले स्थापना दिवसको अवसर पारेर वृहत स्वास्थ्य शिविरका साथै स्टेशनरी समेत विरतण गरेको थियो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई स्टेशनरी सामग्री सहयोग गरेको हो । संस्थाले भरतपुर महानगरपालिका वडा नं। २४, नयाँबस्तीमा रहेको सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो। प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक क्रियाकलापहरू गर्दै आएको सजिलो साकोसले यस वर्ष विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षामा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका, कर्मचारी तथा ठूलो संख्यामा विद्यार्थीहरूको सहभागिता रहेको थियो। शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यालय परिवारले सहकारी संस्थाप्रति आभार प्रकट गर्दै यस्ता सामाजिक कार्यले समुदाय र विद्यालय बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
















