आगोसँग खेल्ने काम नगर्न रास्वपालाई चेतावनी
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्रस्तावलाई ‘अवसरवादी’ र ‘असान्दर्भिक’ को संज्ञा दिएका छन्। आइतबार सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहेका पुनले रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गरेको टिप्पणी गरे । रास्वपाले निर्वाचनका बेला र विभिन्न प्रदेशहरूमा पुगेर सङ्घीयता सुदृढ गर्ने आश्वासन दिएको स्मरण गराउँदै नेता पुनले अहिले महाधिवेशनमार्फत प्रदेश संरचना खारेजीको प्रस्ताव ल्याउनु जनमतमाथिको धोका भएको बताए। उनले रास्वपाभित्रै वैचारिक अस्पष्टता रहेको दाबी गर्दै सभापतिको प्रस्तावमा संविधान र सङ्घीयताप्रति प्रतिबद्धता देखिनु तर उपसभापतिको प्रस्तावमा प्रदेश सभा खारेजीको कुरा आउनुले पार्टीभित्रै दुई वटा धार वा वैचारिक अपरिपक्वता रहेको पुष्टि हुने तर्क गरे।
सङ्घीयता र लोकतन्त्र हजारौँको बलिदानबाट स्थापित भएको उल्लेख गर्दै पुनले यस प्रकारको ‘आगोसँग खेल्ने’ काम नगर्न रास्वपालाई चेतावनी दिए। उनले भने, ‘प्रधानमन्त्रीकै उपस्थितिमा जनकपुर, सुदूरपश्चिम र कर्णालीमा सङ्घीयता बलियो बनाउँछौँ भनेर भाषण गर्ने, तर महाधिवेशनमा पुगेर प्रदेश खारेजीको कुरा गर्नु द्वैध र अवसरवादी चरित्र हो । प्रदेश सभाविहीन संरचनाको अर्थ विगतकै पाँच विकास क्षेत्र जस्तो एकात्मक व्यवस्था हो । सङ्घीयताको मूल मर्म भनेकै जनताले निर्वाचित गरेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्नु हो, केवल प्रशासनिक इकाई मात्र राख्नु सङ्घीयताको उपहास हो ।’ नेता पुनले रास्वपाले नयाँ राजनीतिक संस्कारको सुरुवात गर्न खोजे पनि कतिपय अभिव्यक्ति र व्यवहारले उनीहरूको अपरिपक्वता र ‘लोकप्रियतावाद’ मात्र झल्काएको आरोप लगाए।
















