प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’ को फस्ट लुक्स सार्वजनिक

काठमाडौँ । आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्र ‘मास्टर्नी’ को फस्ट लुक्स सार्वजनिक गरिएको छ । निर्माण टिमले सार्वजनिक गरेको फस्ट लुक्स पोस्टरमा अभिनेत्री प्रियंका कार्की फिचर छिन् । चलचित्रको शीर्ष भूमिकामा उनी नै रहेकी छिन् । बाथटबमा शान्त रूपमा सुतेकी प्रियंकाको आँखाले भने केही भन्न खोजिरहेको अनुमान गर्न सकिन्छ । बाहिरबाट शान्त देखिए पनि भित्र केही गहिरो रहस्य रहेको पोस्टरले संकेत गर्छ । त्यस्तै, त्यहाँ अँध्यारो पानीमा रहेका सुनौला माछाहरूले शान्तिभित्र पनि असामान्य कुरा भइरहेको आभास दिन्छ । प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की निर्माता रहेको चलचित्रलाई शुभेन्दु घोषले निर्देशन गरेका हुन् ।

चलचित्रमा प्रियंकाको साथमा आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय छ । चलचित्रको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् भने क्रिएटिभ निर्माताको रूपमा सिमोस सुनुवार रहेका छन् । प्रियंका कार्कीको कथा रहेको चलचित्रको स्क्रिप्ट शान बस्नेतले तयार पारेका हुन् भने प्रियंका र शान मिलेर डाइलग लेखेका छन् । युवराज इन्दोरियाले खिचेको चलचित्रलाई राजा सिंह सिदुले सम्पादन गरेका छन् । चलचित्र नेपालीसहित अन्य ९ भाषामा एकसाथ रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ । चलचित्र भदौ ५ गतेबाट प्रदर्शनमा आउनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *