अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाइने
जुलाईको पहिलो शनिबार विश्वभर मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवस यस वर्ष एउटा विशेष सन्देशका साथ आएको छ “शान्तिपूर्ण विश्वका लागि सहकारी”। पहिलो दृष्टिमा यो एउटा सामान्य नाराजस्तो लाग्न सक्छ। तर आजको विश्वको वास्तविकता हेर्दा यो केवल वार्षिक उत्सवको विषय होइन, विश्व व्यवस्थाले खोजिरहेको नयाँ विकास दर्शनको घोषणा हो। विश्व अहिले अनेक संकटहरूको संगममा उभिएको छ। एकातिर युक्रेनदेखि मध्यपूर्वसम्मका युद्धले मानव सभ्यतालाई फेरि विभाजनको दिशामा धकेलिरहेका छन् भने अर्कोतर्फ आर्थिक असमानता, जलवायु परिवर्तन, खाद्य असुरक्षा, आप्रवासन, राजनीतिक ध्रुवीकरण र संस्थाप्रतिको घट्दो विश्वासले विश्व समुदायलाई थप अस्थिर बनाइरहेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकासले अभूतपूर्व अवसरहरू सिर्जना गरे पनि त्यसले श्रम बजार, गोपनीयता, लोकतन्त्र र सामाजिक सम्बन्धबारे नयाँ प्रश्नहरू पनि उठाइरहेको छ। यस्तो संक्रमणकालमा अन्तर्राष्ट्रिय सहकारी संघ ९आइसिए० ले यस वर्षको विषयका रूपमा शान्तिपूर्ण विश्वका लागि सहकारी रोज्नु संयोग मात्र होइन, समयको माग पनि हो। हामी सामान्यतया शान्तिलाई युद्ध नहुनुका रूपमा मात्रै बुझ्ने गर्छौं। तर वास्तविक शान्ति बन्दुक नचल्नु मात्र होइन। जहाँ न्याय छैन, अवसरको समान पहुँच छैन, आर्थिक बहिष्करण छ, विश्वासको संकट छ र नागरिकबीचको सम्बन्ध कमजोर छ, त्यहाँ बाह्य रूपमा शान्ति देखिए पनि समाजभित्र असन्तोषको आगो सल्किरहेको हुन्छ। त्यसैले आजको विश्वले खोजेको शान्ति सकारात्मक शान्ति हो । जहाँ न्याय, समावेशिता, सहभागिता, विश्वास र साझा समृद्धि हुन्छ। सहकारी आन्दोलनले करिब दुई शताब्दीदेखि यही अवधारणालाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएको छ। सहकारी आन्दोलनको औपचारिक इतिहास सन् १८४४ मा बेलायतको रोचडेलबाट सुरु भएको मानिन्छ। औद्योगिक क्रान्तिको कठोर शोषणबीच केही श्रमिकले आफ्नै सामूहिक पसल स्थापना गर्दा उनीहरूले केवल व्यवसाय सुरु गरेका थिएनन्स उनीहरूले एउटा वैकल्पिक आर्थिक दर्शनको बीउ रोपेका थिए। त्यो दर्शनको केन्द्रमा थियो—पूँजीभन्दा मानिस, प्रतिस्पर्धाभन्दा सहकार्य र व्यक्तिगत नाफाभन्दा सामूहिक हित। आज विश्वभर करिब ३० लाखभन्दा बढी सहकारी संस्था सञ्चालनमा छन्। एक अर्बभन्दा बढी मानिस प्रत्यक्ष सदस्य छन्। कृषि, बैंकिङ, बीमा, स्वास्थ्य, आवास, ऊर्जा, उपभोक्ता सेवा र श्रम क्षेत्रसम्म सहकारीको प्रभाव फैलिएको छ। विश्वका धेरै विकसित मुलुकमा किसानको उत्पादनदेखि वित्तीय सेवासम्म सहकारीले मुख्य भूमिका निर्वाह गरिरहेको छ। यसको अर्थ स्पष्ट छ—सहकारी कुनै वैकल्पिक प्रयोग मात्र होइन, सफल आर्थिक संरचनाको प्रमाणित मोडल पनि हो। यही कारण संयुक्त राष्ट्रसंघले सन् १९९५ मा अन्तर्राष्ट्रिय सहकारी दिवसलाई औपचारिक मान्यता दियो। संयुक्त राष्ट्रसंघले सहकारीलाई केवल आर्थिक संस्था मानेनस उसले यसलाई गरिबी न्यूनीकरण, सामाजिक न्याय, लैङ्गिक समानता, रोजगारी सिर्जना, वित्तीय समावेशिता र दिगो विकासका लक्ष्य हासिल गर्ने प्रभावकारी माध्यमका रूपमा स्वीकार गर्यो। सहकारीले विकासलाई बजार र राज्यबीचको तेस्रो विकल्पका रूपमा प्रस्तुत गर्यो, जहाँ निर्णयको केन्द्रमा लगानीकर्ता होइन, सदस्य हुन्छ। यस वर्षको विषयले अर्को महत्वपूर्ण सन्देश पनि दिएको छ—विश्व अहिले पुल निर्माणू को चरणमा प्रवेश गर्नुपर्छ। समाज, समुदाय, विचार, संस्कृति र पुस्ताबीचका सम्बन्ध कमजोर बन्दै गएका छन्। सामाजिक सञ्जालले मानिसलाई जोडेको जस्तो देखिए पनि मनोवैज्ञानिक रूपमा समाज झन् विभाजित हुँदै गएको छ। राजनीतिक ध्रुवीकरण, घृणाको राजनीति, आर्थिक असमानता र संस्थामाथिको अविश्वासले लोकतान्त्रिक समाजहरूलाई समेत चुनौती दिइरहेका छन्। यस्तो अवस्थामा सहकारी केवल आर्थिक संस्था होइनस सामाजिक सम्बन्ध पुनर्निर्माण गर्ने नागरिक संस्था पनि हो। सहकारीको लोकतान्त्रिक अभ्यास, साझा स्वामित्व, सहभागितामूलक निर्णय र सामुदायिक उत्तरदायित्वले समाजमा विश्वास पुनःस्थापित गर्ने आधार निर्माण गर्न सक्छ। नेपालका लागि यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवस झन् बढी अर्थपूर्ण छ। देशमा सहकारी आन्दोलनले सात दशकभन्दा बढी समयदेखि ग्रामीण अर्थतन्त्र, महिला सशक्तीकरण, साना उद्यम, कृषि उत्पादन र वित्तीय पहुँच विस्तारमा उल्लेखनीय योगदान दिएको छ। बैंक नपुगेका गाउँमा सहकारी पुगे। वित्तीय पहुँच नभएका नागरिकलाई बचत र ऋणको अवसर सहकारीले दियो। लाखौँ महिलाको आर्थिक सहभागिता सहकारीमार्फत बढ्यो। स्थानीय पूँजी स्थानीय विकासमा परिचालन गर्ने संस्कृतिको निर्माण पनि सहकारीकै देन हो। तर यति भन्दैमा यथार्थका असहज प्रश्नहरूबाट भाग्न सकिँदैन। पछिल्ला वर्षहरूमा देखिएका बचत अपचलन, कमजोर नियमन, राजनीतिक संरक्षण, व्यावसायिक क्षमताको अभाव र सुशासनका गम्भीर कमजोरीले नेपालको सहकारी आन्दोलनमाथि नागरिकको विश्वास डगमगाएको छ। केही सीमित संस्थाको गैरजिम्मेवारीले सम्पूर्ण आन्दोलनमाथि प्रश्न उठेको छ। आज सहकारी क्षेत्रको सबैभन्दा ठूलो चुनौती पूँजीको अभाव होइन, विश्वासको पुनर्निर्माण हो।
यही कारण यस वर्षको शान्तिपूर्ण विश्वू भन्ने विषय नेपालका लागि केवल अन्तर्राष्ट्रिय सन्देश होइन, आफ्नै घरभित्र हेर्नुपर्ने ऐना पनि हो। जहाँ विश्वास छैन, त्यहाँ सहकारी रहँदैन। जहाँ पारदर्शिता छैन, त्यहाँ लोकतन्त्र टिक्दैन। जहाँ सदस्यको हितभन्दा सीमित समूहको स्वार्थ ठूलो हुन्छ, त्यहाँ सहकारीको आत्मा नै समाप्त हुन्छ। त्यसैले नेपालको सहकारी आन्दोलनले अब विस्तारको होइन, आत्मसुधारको दशक सुरु गर्नुपर्छ। संख्या बढाउने प्रतिस्पर्धाबाट गुणस्तर सुधार्ने यात्रातर्फ फर्कनु अपरिहार्य छ। आगामी दिनमा सहकारीको अर्को ठूलो परीक्षा प्रविधिसँग जोडिएको छ। कृत्रिम बुद्धिमत्ता (AI) ले विश्व अर्थतन्त्रलाई पुनःपरिभाषित गरिरहेको छ। यो प्रविधि सहकारीका लागि चुनौती मात्र होइन, असाधारण अवसर पनि हो। (AI) को प्रयोगबाट ऋण जोखिम विश्लेषण, वित्तीय ठगी नियन्त्रण, कृषि उत्पादनको पूर्वानुमान, बजार सूचना, सदस्य सेवा, डिजिटल लेखा परीक्षण, बहुभाषिक सेवा र निर्णय प्रक्रियामा उल्लेखनीय सुधार सम्भव छ। तर सहकारीले प्रविधिलाई अपनाउँदा आफ्नो मूल दर्शन गुमाउनु हुँदैन। यदि एल्गोरिदमले सदस्यलाई प्रतिस्थापन गर्यो भने सहकारीको आत्मा हराउँछस यदि एआईले सदस्यको निर्णयलाई अझ सशक्त बनायो भने सहकारी नयाँ युगको नेतृत्व गर्न सक्छ। त्यसैले भविष्यको सहकारी ू एआई(सक्षमू हुनुपर्छ, तर ूमानव(केन्द्रितू नै रहनुपर्छ। विश्व अर्थतन्त्र अहिले दुई चरमबीच संघर्ष गरिरहेको छ। एकातिर अत्यधिक केन्द्रीकृत पूँजीवादी संरचना छ, जहाँ सम्पत्ति केही सीमित कम्पनी र व्यक्तिमा केन्द्रित हुँदै गएको छ। अर्कोतर्फ राज्य नियन्त्रणमा आधारित पुराना मोडलहरू अपेक्षाअनुसार सफल हुन सकेनन्। यी दुई ध्रुवबीच सहकारीले तेस्रो बाटो देखाउँछ—लोकतान्त्रिक स्वामित्व, साझा उत्तरदायित्व र समावेशी विकासको बाटो। यही कारण आज विश्वका नीति निर्माताहरू, संयुक्त राष्ट्रसंघ र विकास साझेदारहरूले सहकारीलाई पुनः नयाँ दृष्टिले हेर्न थालेका छन्। सहकारी दिवसको वास्तविक अर्थ औपचारिक समारोह, शुभकामना सन्देश वा लोगो सार्वजनिक गर्नु मात्र होइन। यसको उद्देश्य विश्वलाई सम्झाउनु हो कि आर्थिक प्रणालीको अन्तिम लक्ष्य पूँजीको अधिकतम विस्तार होइन, मानिसको जीवनको गुणस्तर सुधार हो। जब अर्थतन्त्रले मानिसलाई केन्द्रमा राख्न छोड्छ, त्यहीँबाट असमानता, अविश्वास र अन्ततः अशान्तिको बीजारोपण हुन्छ। सहकारीले त्यसको विपरीत साझा स्वामित्व, साझा निर्णय र साझा उत्तरदायित्वको संस्कृति विकास गर्छ। यही संस्कृति दिगो शान्तिको आधार हो।
















