जाजु ग्रुप (एसियन थाइ फुड्स) ले करिब ६० लाख रुपैयाँ बराबरको सहयोग गर्ने

विराटनगर। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित सर्वसाधारणका लागि जाजु ग्रुपले करिब ६० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ । जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाइ फुड्स लिमिटेडका प्रबन्ध निर्देशक महेश जाजुले बाढी पीडितका लागि राहत सामग्री स्थानीय प्रशासनसँग समन्वय गरी सोमबार पठाउने जानकारी दिए । पूर्वी नेपालको अग्रणी औद्योगिक घरानाको रूपमा रहेको जाजु ग्रुप र शारडा ग्रुपले सञ्चालन गर्दै आएको सुनसरीको सोनापुरस्थित एसियन थाइ फुड्स लिले एक लाख प्याकेट रमपम चाउचाउ, एक लाख प्याकेट गुडलाइफ बिस्कुट र एक लाख प्याकेट जुस गरी करिब ६० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने उद्योगी जाजुले बताए ।

प्राकृतिक विपद्का कारण नागरिक ठुलो समस्यामा परेका बेला सरकारसँगै निजी क्षेत्रको पनि सामाजिक दायित्व हुने भएकाले मानवीय सेवाको भावनाबाट राहत सामग्री उपलब्ध गराइएको उनले बताए । ‘विपद्को यो कठिन अवस्थामा सरकार उद्धार र राहतमा जुटिरहेको छ। यस्तो अवस्थामा निजी क्षेत्रको पनि सामाजिक दायित्व हुन्छ। त्यही दायित्व र उत्तरदायित्वलाई आधार मानेर हामीले सक्दो सहयोग गरेका हौँ,’ जाजुले भने । उनले विपदमा परेका नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराउन निजी क्षेत्रले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *