बाढीपीडितलाई कांग्रेस सांसदले एक महिनाको तलब दिने, उद्धार र राहत तीव्र पार्न माग
काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले एक महिनाको तलब बाढीपीडितलाई सहयोगका निम्ति प्रदान गर्ने भएका छन् । सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकबाट यो निर्णय गरिएको प्रमुख सचेतक बासना थापाले बताइन् । “बाढीपीडितको तत्काल राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन नेपाली कांग्रेसका संघीय सांसदहरूले न्यूनतम एक महिनाबराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय भएको छ,” उनले भनिन् ।
बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चारलगायत अत्यावश्यक पूर्वाधार द्रुत गतिमा पुनर्निर्माण गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन बैठकबाट सरकारसँग आग्रह गरिएको छ । मुख्य ‘लाइफलाइन’का रूपमा रहेको पृथ्वी राजमार्ग अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी हुन सक्ने भन्दै कांग्रेसले बजार अनुगमन कडा बनाउन र सहज आपूर्ति सुनिश्चित गर्न पनि माग गरेको छ । विपद्को यो घडीमा अहोरात्र खटिने स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वयंसेवक तथा सञ्चारमाध्यमलाई धन्यवाद दिँदै उद्धार र पुनर्स्थापनामा एकजुट हुन सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र र नागरिक समाजलाई दलको बैठकबाट अपिल गरिएको छ ।

















