बैंककको बारमा आगलागी, २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चानविराकुलले घटनास्थलमा सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार आगो सल्किएको उक्त भवनबाट २७ वटा शव निकालिएको छ भने अन्य घाइतेहरूलाई अस्पताल लगिएको छ। आइतबार मध्यरातपछि अग्निनियन्त्रकहरू घटनास्थलमा पुग्दा ग्राहकहरू आगोको चपेटामा परेको मुख्य ढोकाबाट भागिरहेका थिए। सामाजिक सञ्जाल एक्समा सार्वजनिक भएका भिडियोहरूमा बारबाट आगोको लप्का निस्किएको र मानिसहरू चिच्याउँदै भागिरहेको देखिन्छ। भागदौडका क्रममा केही मानिस लडेका छन् भने कम्तीमा दुई जनाको शरीरमा आगो सल्किएको स्पष्ट देखिन्छ। अग्निनियन्त्रकहरूले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिए पनि त्यतिन्जेलसम्म ठुलो क्षति भइसकेको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार ज्यान गुमाउने २७ जनामा नौ पुरुष र १८ महिला छन्। अस्पतालमा ६० भन्दा बढी व्यक्तिको उपचार भइरहेको छ भने केही मानिस अझै बेपत्ता रहेको थाइ सञ्चारमाध्यम थाइराथले जनाएको छ। आगो लाग्ने बित्तिकै भवनको पछाडि भागेर शौचालयमा लुक्न खोज्दा धेरैको निसास्सिएर मृत्यु भएको प्रधानमन्त्रीले बताए। आगो लाग्दा प्रस्तुति दिइरहेका एक सङ्गीतकारलाई उद्धृत गर्दै प्रधानमन्त्रीले भने, ‘कट(आउट स्विचमा आगो सल्किएपछि घटना निकै तीव्र गतिमा अघि बढ्यो। विस्फोट भयो र सबैजना धुवाँ तथा आगोबाट बच्न भाग्न थाले।’

धेरैजसो शव शौचालयभित्रै फेला परेको उनले जानकारी दिए। बैङ्ककको चाटुचक जिल्लामा रहेको उक्त बारको नाम ‘रोङ बियर ना लात फ्राओ’ रहेको र यो स्थानीय क्षेत्रमा निकै लोकप्रिय रेस्टुरेन्ट तथा मनोरञ्जन स्थल भएको बताइएको छ। आगलागी नियन्त्रण पछि सार्वजनिक भएका तस्बिरहरूमा बार बाहिर शव राखिएका झोलाहरू लस्करै देखिन्छन् भने भित्रपट्टि फर्निचर, पर्खाल र छत पूर्ण रूपमा जलेर नष्ट भएका छन्। बैङ्ककका गभर्नर चाटचार्ट सिट्टिपुन्टले घटनास्थलको निरीक्षण गर्दै बारभित्र सजाइएका प्रज्वलनशील सामग्रीका कारण आगो तीव्र रूपमा फैलिएको दाबी गरे। दैनिक पत्रिका डेली न्युजसँग कुरा गर्दै उनले भने, ‘चकलेट र अन्य सामान बिक्री गर्ने पसलहरूले आपत्कालीन निकासको बाटो छेकेको प्रारम्भिक र रिपोर्टहरू आएका छन्।’ यद्यपि यो विषयमा फरेन्सिक अधिकारीहरूले विस्तृत र आधिकारिक अनुसन्धान गर्नुपर्ने उनले बताए। स्थानीय समयअनुसार राति ११स्३० बजे बाटो हिँड्ने एक चालकले बारमा आगो लागेको देखेका थिए। ती चालकले आफू कारबाट ओर्लिएर झ्यालका सिसा फुटाई दुई जनालाई बचाउन सफल भएको बताए। आगो लाग्नुको मुख्य कारणबारे अहिले अनुसन्धान भइरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *