सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ‘ए’ रेटिङ यथावत् कायम
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सालिको) को जारीकर्ता साख मूल्याङ्कन ‘ए’ श्रेणीमा यथावत कायम गरिएको छ । यसअघि राखिएको ‘नकारात्मक प्रभावसहितको निगरानी’ पनि हटाइएको हो । इक्रा नेपालले गरेको मूल्याङ्कनअनुसार कम्पनीको जारीकर्ता साख मूल्याङ्कन ‘इक्रा एनपी–आईआर ए’ श्रेणीमा पुनः पुष्टि गरिएको हो । यस श्रेणीका संस्थाहरूलाई आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता भएको, कम साख जोखिम बोकेको तथा समग्र रूपमा राम्रो वित्तीय विश्वसनीयता भएको संस्था मानिन्छ । यो मूल्याङ्कन कुनै विशेष ऋणपत्रका लागि नभई संस्थाको समग्र साख क्षमतामाथिको राय हो । इक्रा नेपालका अनुसार कम्पनीलाई ‘नकारात्मक प्रभावसहितको निगरानी’ बाट हटाउने मुख्य आधार २०२५ को सेप्टेम्बरमा भएको ठूलो दङ्गापछि उत्पन्न बीमा दाबी व्यवस्थापन गर्न सक्ने कम्पनीको क्षमता स्पष्ट हुनु हो । तरलता र पुँजीगत अवस्थाको हिसाबले कम्पनीले उक्त दाबीको भार सहज रूपमा थेग्न सक्ने देखिएपछि निगरानी हटाइएको जनाइएको छ । मध्य अप्रिल २०२६ सम्मको विवरणअनुसार कम्पनीले दङ्गासँग सम्बन्धित करिब ९२ करोड रुपैयाँ बराबरको कुल दाबी प्राप्त गरेको थियो । त्यसमध्ये कम्पनीले आफैंले वहन गर्नुपर्ने हिस्सा करिब २८ प्रतिशत अर्थात् करिब २६ करोड १० लाख रुपैयाँ रहेको इक्रा नेपालले जनाएको छ । कम्पनीको कुल बीमा शुल्क आम्दानीमा रहेको बजार हिस्साको तुलनामा दङ्गासम्बन्धी प्राप्त दाबी अपेक्षाकृत कम रहेको पनि उल्लेख गरिएको छ । पुनर्बीमा व्यवस्थापन, कम्पनीको बलियो खुद सम्पत्ति तथा सन्तोषजनक तरलताका कारण यी दाबीहरू सहज रूपमा व्यवस्थापन गर्न सकिने इक्रा नेपालको निष्कर्ष छ । यद्यपि, यी दाबीका कारण २०२६ को नाफामा उल्लेखनीय असर पर्ने सम्भावना भने औँल्याइएको छ । मूल्याङ्कनमा कम्पनीको लामो सञ्चालन अनुभव, सञ्चालनको राम्रो आकार तथा निर्जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनीहरूमध्ये एकका रूपमा रहेको बजार उपस्थिति पनि सकारात्मक पक्षका रूपमा उल्लेख गरिएको छ ।
कम्पनीको सन्तोषजनक दायित्व बहन क्षमता तथा पर्याप्त तरलता अवस्थाले पनि मूल्याङ्कनलाई समर्थन गरेको इक्रा नेपालको भनाइ छ । कम्पनीको स्वामित्व संरचनालाई पनि बलियो मानिएको छ । श्रीलङ्काको ‘सेलिन्को होल्डिङ्स पीएलसी’ संस्थागत प्रवद्र्धकका रूपमा रहेको, उक्त समूहले आफ्ना सहायक कम्पनीमार्फत श्रीलङ्काको बीमा क्षेत्रमा समेत उपस्थिति जनाएको तथा कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व रहेको तथ्यलाई सकारात्मक रूपमा हेरिएको छ । अनुभवी व्यवस्थापन टोली पनि कम्पनीको अर्को सबल पक्षका रूपमा उल्लेख गरिएको छ । नेपालमा बीमा व्यवसायको पहुँच अझै न्यून रहेको, आगामी दिनमा विस्तारको पर्याप्त सम्भावना रहेको तथा नेपाल सरकारले बीमा क्षेत्रलाई प्रवद्र्धन गर्ने नीति लिइरहेको अवस्थाले कम्पनी र समग्र बीमा उद्योगको भविष्यप्रति पनि इक्रा नेपाल आशावादी देखिएको छ । कम्पनी २०७९ चैतमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड (२०५३ असारदेखि सञ्चालनमा) र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (२०६२ साउनदेखि सञ्चालनमा( एकआपसमा गाभिएपछि स्थापना भएको हो। कम्पनीको प्रधान कार्यालय काठमाडौंको नक्सालमा रहेको छ। २०८३ असार मध्यसम्म कम्पनीका प्रमुख सेयरधनीमध्ये श्रीलङ्कास्थित सिलिन्को होल्डिङ्स पीएलसीको करिब ११ दशमलव ४ प्रतिशत, लुम्बिनी विकास बैंक लिमिटेडको करिब ४ दशमलव २ प्रतिशत, मनोहरदास मूलको करिब ४ दशमलव १ प्रतिशत तथा लक्ष्मी सनराइज बैंक लिमिटेडको करिब ३ दशमलव ३ प्रतिशत सेयर स्वामित्व रहेको छ। कम्पनीमा संस्थापक समूह र सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत रहेको छ।















