अर्जेन्टिना र स्पेन भिड्दै, फाइनल खेलको टिकट मूल्य ३५ करोडसम्म
एजेन्सी । फिफा विश्वकप २०२६ को फाइनल सोमबार विहान १२,४५ बजे न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा स्पेन र अर्जेन्टिनाबीच हुँदै छ । यो अमेरिकामा अहिलेसम्म आयोजना भएको सबैभन्दा महँगो खेलकुद कार्यक्रम बनेको छ । लियोनेल मेसीको सम्भवतः अन्तिम विश्वकप उपस्थिति र स्पेनको युवा तारा लामिने यामालको सामनाले फाइनलमा टिकटको माग असाधारण उचाइमा पुर्याएको छ ।
टिकट अहिलेसम्मकै महँगो
फिफाले सुरुमा फाइनलको आधिकारिक टिकट मूल्य २ हजार ३० डलर (३ लाख ८ हजार ५६० रुपैयाँ) देखि ६ हजार ७३० डलर (१० लाख २२ हजार ९६० रुपैयाँ) सम्म तोकेको थियो । तर यस पटक पहिलोपटक लागू गरिएको डाइनामिक प्राइसिङ प्रणालीका कारण मूल्य निरन्तर बढ्दै गयो । अप्रिलमा चौथो चरणको बिक्री खुल्दा क्याटेगोरी १ को टिकट १० हजार ९९० डलर (१६ लाख ७० हजार ४८० रुपैयाँ) बाट सुरु भयो, जुन अक्टोबरको सुरुवाती मूल्य ६ हजार ३७० (९ लाख ६८ हजार २४० रुपैयाँ) भन्दा ७० प्रतिशतभन्दा बढी थियो । फाइनल हुनुभन्दा एक दिनअघि नै अवस्था झनै चर्को बन्यो । शुक्रबारसम्म फिफाको आधिकारिक बिक्री साइटमा लगभग सबै टिकट बिक्री भइसकेको थियो, बाँकी केही सिट प्रतिटिकट झन्डै ३२ हजार डलर (४८ लाख ६४ हजार रुपैयाँ) मा उपलब्ध थिए । शनिबार आइपुग्दा त फिफाको आधिकारिक साइटमा एउटै पनि अन्तिम(मिनेटको टिकट बाँकी रहेन, बरु फिफाकै रिसेल प्लेटफर्ममा टिकट १० हजारदेखि लिएर २.३ मिलियन डलर (३४ करोड ९६ लाख रुपैयाँ) सम्ममा सूचीबद्ध भएका थिए । अर्को प्रमुख रिसेल प्लेटफर्म सिटगिकमा फाइनलको औसत टिकट मूल्य शुक्रबारसम्म ११,००० (१६ लाख ७२ हजार रुपैयाँ) भन्दा माथि पुगेको थियो, जुन सो प्लेटफर्मले अहिलेसम्म बेचेको सबैभन्दा महँगो टिकट भएको र सन् २०२४ को सुपर बाउल भन्दा समेत ८ प्रतिशत बढी भएको कम्पनीले जनाएको छ ।
स्टेडियम भरिने निश्चित
रोयटर्सले गरेको फिफा उपस्थिति तथ्यांकको विश्लेषण अनुसार, समूह चरणका ७२ खेलमध्ये आधाभन्दा बढी खेल पूर्ण क्षमतामा भरिएका थिए र बाँकी अधिकांश खेलमा पनि पूर्ण भन्दा केही सय सिट मात्र कम रहेको पाइएको थियो । फिफाका अनुसार समूह चरणका खेलहरूमा ९९.७ प्रतिशत सिट भरिएका थिए । यद्यपि, जुन ११ मा ग्वाडालाहारा स्टेडियममा भएको दक्षिण कोरिया–चेकिया खेलका बेला भने धेरै खाली सिट देखिएका थिए, जसले उच्च मूल्यले फ्यानहरूलाई पर धकेल्ने हो कि भन्ने प्रारम्भिक आशंका जगाएको थियो । तर फाइनलसम्म आइपुग्दा त्यो आशंका पूरै गलत सावित भयो ।
शनिबारसम्मै आधिकारिक साइटमा एउटै टिकट नबाँकी रहनुले स्टेडियम पूर्ण रूपमा भरिने निश्चित भएको संकेत गर्छ।
किन यति उच्च मूल्य ?
पूर्व क्लिभल्यान्ड क्याभालियर्स टिकटिङ विशेषज्ञ स्कट फ्रिडम्यानका अनुसार, फिफाले उच्च मूल्य तोक्दा पनि फ्यानहरूले तिर्ने आँकलन सही साबित भयो । उनले फाइनलमा हप्ता,हप्तै ‘स्लो टिकटिङ’ रणनीति अपनाइएको र सीमित सिट क्रमशः बजारमा ल्याइएकाले खरिददारमा हतारो सिर्जना भएको बताए । अर्कातर्फ, कोलम्बिया विश्वविद्यालयका प्राध्यापक आदम एल्माख्तुबका अनुसार डाइनामिक प्राइसिङ प्रणाली अझै धेरैका लागि अस्पष्ट रहेको र यसमा पारदर्शिता आवश्यक रहेको बताए । अमेरिकामा रिसेल बजारमा रहेको खुकुलो नियमले पनि मूल्य वृद्धिलाई थप बढावा दिएको छ । सह(आयोजक मेक्सिकोमा भने रिसेलरहरूले आफूले तिरेको मूल्यभन्दा बढीमा टिकट बेच्न नपाउने नियम लागू छ ।
पहुँचको प्रश्न
मानव अधिकार संस्थाहरूले भने यो टुर्नामेन्ट धेरै फ्यानको पहुँचबाट टाढै रहेको आलोचना गरेका छन् । फुटबल सपोर्टर्स युरोपका कार्यकारी निर्देशक रोनन इभाँका अनुसार, यो विश्वकप ‘थोरै भाग्यमानीहरूको मात्र’ भएको उनको भनाइ छ, किनकि भिसा र भ्रमण खर्च धान्न सक्ने युरोपेली मुलुकका फ्यानले मात्र यसको फाइदा उठाउन सकेका छन् ।














