नेपाल–स्पेन व्यापार सहकार्य विस्तार गर्न दुई चेम्बरबीच छलफल
काठमाण्डौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिस चेम्बर अफ कमर्सबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । नेपाल भ्रमणमा रहेकी स्पेनिस चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेने र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच चेम्बर भवनमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने विषयमा सहमति भएको हो । दुवै पक्षले नेपालको राजनीतिक स्थायित्व र भारत–चीनबीचको रणनीतिक भौगोलिक अवस्थाले व्यापार र लगानी विस्तारका लागि अनुकूल वातावरण सिर्जना गरेको उल्लेख गरेका छन् । छलफलमा सन् २०२६ को अन्त्य वा २०२७ को प्रारम्भसम्म दुई चेम्बरबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने तयारीबारे पनि कुरा भएको छ । स्पेनिस चेम्बर अफ कमर्सले सन् २०२७ को फेब्रुअरी–मार्चमा आठदेखि नौवटा स्पेनी कम्पनीहरूको व्यावसायिक प्रतिनिधिमण्डल नेपाल पठाउने योजना रहेको जनाएको छ । सो अवसरमा नेपाली र स्पेनी उद्यमीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार तथा नयाँ लगानी अवसरको खोजीका लागि व्यावसायिक फोरम आयोजना गरिने बताइएको छ । छलफलमा व्यावसायिक भिसा प्रक्रियालाई सहज बनाउने, उच्चस्तरीय भ्रमणलाई प्रोत्साहन गर्ने तथा युरोपेली संघ र भारतबीच जारी व्यापार वार्ताबाट नेपालले प्राप्त गर्न सक्ने सम्भावित अवसरको उपयोग गर्ने विषयमा पनि विचार आदान–प्रदान भएको थियो । दुवै चेम्बरले नवीकरणीय ऊर्जा, जलविद्युत्, सौर्य तथा वायु ऊर्जा, जल व्यवस्थापन, स्मार्ट सिटी, यातायात पूर्वाधार, पर्यटन तथा आतिथ्य, कृषि तथा खाद्य प्रशोधन क्षेत्रलाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउने सहमति जनाएका छन् ।
बैठकमा नेपालबाट अर्थोडक्स चिया, अर्ग्यानिक कफी, ठूलो इलाइची, जडीबुटी, अत्यावश्यक तेल, पश्मिना, हस्तनिर्मित गलैँचा, हस्तकला सामग्री, हस्तनिर्मित कागज, चाँदीका गरगहना, अर्ग्यानिक मह तथा बाँसजन्य उत्पादनको निर्यात सम्भावना रहेको उल्लेख गरिएको थियो । त्यसैगरी, स्पेनले नवीकरणीय ऊर्जा, सिँचाइ, कृषि उपकरण, स्वास्थ्य उपकरण, पानी प्रशोधन तथा पर्यटन व्यवस्थापनमा आफ्नो आधुनिक प्रविधि र अनुभव नेपालसँग साझेदारी गर्न सक्ने विश्वास व्यक्त गरेको छ । दुवै पक्षले म्याड्रिड, बार्सिलोना र काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सक्रिय सहभागिता जनाउँदै डिजिटल व्यापार र ई–कमर्समार्फत व्यावसायिक सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । साथै, दक्षिण एसियामा अनुभव हासिल गरेका स्पेनी कम्पनीहरू नेपालका पूर्वाधार विकास, स्वच्छ ऊर्जा तथा दिगो लगानी परियोजनाका लागि उपयुक्त साझेदार बन्न सक्ने विषयमा पनि छलफल भएको थियो । भेटवार्ताको अन्त्यमा दुवै चेम्बरले नियमित व्यावसायिक भ्रमण, संस्थागत सहकार्य र निजीक्षेत्रबीचको साझेदारीलाई सुदृढ बनाउँदै आगामी वर्षहरूमा नेपाल–स्पेन व्यापार तथा लगानीलाई उल्लेखनीय रूपमा विस्तार गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।














