डा. देवेन्द्रराज पाण्डेको जीवन साधना नागरिक आन्दोलन थियो : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा देवेन्द्रराज पाण्डेको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना सन्देश पठाएका छन् । समवेदना सन्देशमा राष्ट्रपति पौडेलले पाण्डेको साधना मुख्यतस् स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा रहेको उल्लेख गरेका छन् । नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूमा नागरिक अगुवाका रूपमा दिवंगत पाण्डेले निर्वाह गरेको नेतृत्वदायी भूमिका सदा स्मरणीय रहिरहने राष्ट्रपति पौडेलले बताएका छन् । ‘२०३६ सालको जनमत संग्रहभन्दा केही महिनाअघि सरकारको सचिव पदबाट राजीनामा दिएर उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनका नागरिक अगुवाका रूपमा २०४६ सालदेखि २०६२,६३ सालको आन्दोलनमा दिनुभएको नेतृत्वदायी भूमिका आफ्नो मानसपटलमा अझै ताजा छ,’ राष्ट्रपति पौडेलले समवेदना सन्देशमा भनेका छन्, ‘२०३६ साल यताको करिब साढे ४ दशक अवधिमा उहाँको जुन भूमिका र योगदान रह्यो, त्यसले आफ्नो क्षेत्र र धारबाट राष्ट्र निर्माणमा योगदानकर्ता मानक व्यक्तित्वका रूपमा भावी पुस्ताले स्मरण गरिरहनेछन् भन्ने मलाई लागेको छ ।’ यस्तै पाण्डेको निष्ठा, आचरण र नैतिक जीवनले नेपाली समाजलाई सबै आलोकित गरिरहने विश्वास आफूले लिएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले पाण्डेको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुग्नुका साथै मुलुकले निर्भिक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी नागरिक अगुवा गुमाएको बताएका छन् । राष्ट्रपति पौडेलको समवेदना सन्देश उनका प्रेस सल्लाहकार किरण पोखरेल तथा प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले पाण्डेको निवास विशालनगर पुगेर हस्तान्तरण गरेका थिए । क्यान्सरबाट पीडित पाण्डेको साउन १ गते शुक्रबार आफ्नै निवास विशालनगरमा निधन भएको थियो ।

















