कांग्रेस सांसद शाहको पक्राउ पुर्जी ‘यथास्थिति’मा राख्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहका नाममा जारी भएको पक्राउ पुर्जी तत्कालका लागि यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले बुधबार गृह मन्त्रालय, जिल्ला अदालत कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । कांग्रेस सांसद शाहले पक्राउ पुर्जी रोक्न माग राखेर मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले उक्त प्रकरणमा लिखित जवाफ माग गर्दै दुवै पक्षलाई छलफलमा झिकाएको छ । शाहको रिटमा सुनुवाइपछि सर्वोच्चमा छलफल नहुञ्जेलसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी भएको हो । कपिलवस्तु जिल्ला अदालतले यसअघि कुटपिट आरोपमा सांसद शाहलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोप छ । कुटपिट घटनामा शाहविरुद्ध मुद्दा दर्ता भई कपिलवस्तु जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी गैरकानुनी रहेको दाबीसहित सर्वोच्चमा रिट दर्ता भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *