विस्थापित सुकुम्वासीलाई गृहजिल्ला फर्काइँदै

काठमाडौं । सरकारले काठमाडौंका नदी किनाराबाट विस्थापित सुकुम्वासीलाई उनीहरूकै स्थायी ठेगाना भएको जिल्लामा फर्काउने भएको छ । उनीहरूलाई आ–आफ्ना पालिकामा सम्पर्कमा जान सूचना जारी गरिएको छ । सरकारले गत वैशाख ११ गतेदेखि डोजर चलाएर विस्थापित सुकुम्वासीमध्ये पहिलो चरणमा सरकारी होल्डिङ सेन्टरमा पठाएको थियो । त्यहाँ रहेका ३८८ परिवारका एक हजार ४८८ जनाको सम्पत्ति छानबिन गरेको थियो । त्यसमध्ये कतै पनि सम्पत्ति फेला नपरेको २९ जनाको सूची प्रकाशित गर्दै ‘भूमी समस्या समाधान समिति’ले आफ्नो स्थायी ठेगाना भएका जिल्लाका पालिकामा सम्पर्क गर्न भनेको छ । सूचनासँगै प्रकाशित सूचीमा ती सुकुम्वासी परिवार रहेको हालको होल्डिङ सेन्टर र उनीहरूको स्थायी ठेगानासमेत समेटिएको छ । भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रकाशन मन्त्रालयको असार २९ को निर्णयअनुसार समितिले यस्तो सूचना प्रकाशित गरेको हो ।

सूचनामा लाभग्राहीका परिवारको नेपालभर घरजग्गा रहे,नरहेको भनि भूमि व्यवस्थापन तथा अभिलेख विभागमा लेखी पठाएकोमा २९ परिवारको नाममा घरजग्गा नभेटिएको भनी जवाफ प्राप्त भएको उल्लेख छ । “त्यस्ता लाभग्राहीहरूको स्थायी ठेगाना उल्लेख भएको जिल्लामा स्वीकृत कार्यविधिको अधिनमा रही जग्गा उपलब्ध गराउने प्रयोजनार्थ, लाभग्राहीहरूको डिजिटल विवरण अनुसार तयार भएका निवेदन फारम र संलग्न कागजातहरू समेतको फाइल तयार गरी आवश्यक कारबाहीअगाडि बढाउन सम्बन्धित जिल्ला समितिमा लेखेर पठाइसकेको छ,” सूचनामा भनिएको छ, “सम्बन्धित जिल्ला समिति र पालिकामा तत्काल सम्पर्क गर्न जानु हुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *