भोलि उद्‌घाटन हुँदैं नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग

काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको सोमबार उद्घाटन हुँदै छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको यो सुरुङ शिलान्यासको सात वर्षपछि उद्घाटन गर्न लागिएको हो । ४ कात्तिक २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो । कोभिड– १९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुग्यो । शिलान्यासको करिब चार वर्षपछि २२ साउन २०८० मा ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु गरिएको थियो । तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाईं, नेपालका लागि जापानका राजदूत किकुता युतका, जाइका प्रमुखलगायतको उपस्थितिमा ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु भएको थियो । ‘रेस्क्यु टनेल’ ब्रेक थ्रु गरिँदा मुख्य सुरुङको ८२ प्रतिशत निर्माण भइसकेको थियो । त्यतिबेला मुख्य टनेलको ५०६ मिटर खन्न बाँकी थियो । ‘रेस्क्यु टनेल’ ब्रेक थ्रुको १० महिनापछि मुख्य टनेल ब्रेक थ्रु गरियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ३ असार २०८१ मा मुख्य टनेलको ब्रेक थ्रु गरेका थिए । मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर छ । यसबाहेक २.५५७ किलोमिटरको आपतकालीन सुरुङ छ । जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानीमा यो सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो ।

तर, निर्माणको चरणमा प्रवेश गरेपछि लागत बढ्यो । यसपछि जापानले फेरि ५ अर्ब ऋण सहायता थपिदिएको थियो । यो आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो । सुरुङ सोमबारदेखि सञ्चालनमा आउने भए पनि सबै सवारीले प्रवेश पाउने छैनन् । पहिलो दिन आपतकालीन प्रयोजनमा प्रयोग हुने सवारीले सुरुङ प्रयोग गर्न पाउँछन् । त्यसपछि चरणबद्ध ढंगले अन्य निजी र सार्वजनिक सवारीले सुरुङ मार्गको प्रयोग गरेर काठमाडौं आउजाउ गर्न पाउनेछन् । पैदलयात्री, दुई पाङग्रे सवारी, डिजेल, पेट्रोलसहित प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारी सुरुङ मार्गभित्र चल्न पाउँदैनन् । सुरुङ प्रयोग निःशुल्क भने होइन । काठमाडौं भित्रिँदा र बाहिरिँदा कार,भ्यानले क्रमशः ६५ र ६० रुपैयाँ तिर्नुपर्छ । मिनीबस, टिपरले भित्रिँदा ११५, बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले भित्रिँदा २६०, बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसबाहेक हेभी ट्रकले भित्रिँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने गरी सरकारले शुल्क निर्धारण गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *