सुनसरीमा दुई समूहबीच भएको झडपपछि गोली चल्दा एकजनाको मृत्यु

सुनसरी । सुनसरीमा दुई समूहबीच भएको झडपपछि गोली चल्दा एकजनाको मृत्यु भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा गएराति दुई धार्मिक समूहबीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा गोली चलाउनुपर्ने अवस्था आइपरेको प्रहरी स्रोत बताउँछ । झडप नियन्त्रणका लागि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने नौजना सर्वसाधारण र १३ जना सुरक्षाकर्मी घाइते भएका छन् । गएराति सवा १० बजे बोलबमका लागि हिन्दुहरुले कोसी ब्यारेजबाट जल लिएर अघि बढेका थिए । सो क्रममा डिजे बजाइएको र सोही डिजेको आवाजलाई लिएर विवाद बढेको थियो ।दुवै पक्षबीच पहिला भनाभन भएको र झडपमा बदलिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । हिन्द र मुस्लिम दुवै समुदायका मानिसहरू चिर्पट, ढुंगा, बाँस, लाठी र भालाजस्ता सामग्री बोकेर घटनास्थल पुगेको त्यहाँ रहेका पत्रकारहरुले जनाएका छन् । त्यसपछि अवस्था झनै तनावग्रस्त बनेको थियो । दुवै पक्षबाट हानाहान भएपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीमाथिप नि ढुंगा प्रहार भएको बताइएको छ । राति नै सशस्त्र प्रहरीको टोली पनि परिचालित गरिएको थियो ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्र खड्काले दिएको जानकारीअनुसार गोली चलेको कारण र कति राउन्ड प्रहार गरिएको भन्नेबारे विस्तृत विवरण संकलन भइसकेको छैन । गोली लागेर घाइते भएका देवानगञ्जकै ३० वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । घटनामा देवानगञ्ज–३ का २० वर्षीय जयप्रकाश मेहता गम्भीर घाइते भएका छन् । मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, अमितकुमार यादव, रविन्द्र मेहता, अर्को अमितकुमार यादव तथा सुनिलकुमार मेहतालाई उपचारका लागि विराटनगर लगिएको छ । झडपमा नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित आठजना प्रहरी घाइते भएका छन् । प्रहरी निरीक्षक राईको टाउकोमा पाँचवटा टाँका लगाइएको छ । अन्य घाइते प्रहरीको अवस्था सामान्य रहेको जनाइएको छ । सशस्त्र प्रहरीतर्फ पनि पाँचजना घाइते भएको बताइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले भने आफूहरुले गोली नचलाएको बताएको छ । प्रहरीका एक अधिकारीले दिएको जानकारीअनुसार गोली कसले चलायो भन्ने विषयमा अनुसन्धान हुँदैछ । सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले सशस्त्र प्रहरीले गोली नचलाएको बताउँदै भने– हाम्रोतर्फबाट गोली चलेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *