राष्ट्रको पहिचान केवल राजनीतिक व्यवस्थाले मात्र नभई भाषा, संस्कृति, इतिहास र नैतिक मूल्यले निर्माण हुनेछ : मुख्यमन्त्री बानियाँ

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीति सही दिशामा अघि बढ्न नसके भाषा, संस्कृति, सभ्यता र ऐतिहासिक सम्पदाको संरक्षण गर्न कठिन हुने बताएका छन्। उनले राष्ट्रको पहिचान केवल राजनीतिक व्यवस्थाले मात्र नभई भाषा, संस्कृति, इतिहास र नैतिक मूल्यले निर्माण हुने भएकाले यी पक्षको संरक्षणलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। यल नेवाः समाजद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले सबै जातजाति, भाषा, धर्म र संस्कृतिलाई समान सम्मान गर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए।

उनले अल्पसंख्यक समुदायले पनि आफ्नो भाषा, संस्कृति, धर्म र पहिचान सुरक्षित रूपमा संरक्षण र अभ्यास गर्न पाउने वातावरण सुनिश्चित गर्नु लोकतान्त्रिक राज्यको दायित्व भएको उल्लेख गरे। मुख्यमन्त्री बानियाँले प्रचलित रूपमा ‘नेवारी भाषा’ भनिए पनि त्यसको वास्तविक नाम ‘नेपाः भाषा’ रहेको उल्लेख गर्दै भाषाको मौलिक पहिचानलाई सम्मान गर्नुपर्ने बताए। उनले नेपाः भाषा केवल नेवाः समुदायको भाषा मात्र नभई नेपालको इतिहास, सभ्यता र सांस्कृतिक विकाससँग जोडिएको अमूल्य सम्पदा भएको धारणा राखे। उनले नेवाः समुदायले सयौँ वर्षदेखि आफ्नो भाषा, कला, संस्कृति, वास्तुकला, जात्रा, पर्व, गुठी परम्परा तथा ऐतिहासिक सम्पदाको संरक्षणमा खेलेको भूमिका अतुलनीय रहेको बताए। नेपालका सांस्कृतिक सम्पदा, ऐतिहासिक सहर, मठमन्दिर, विहार, चैत्य र दरबार क्षेत्रको संरक्षणमा नेवाः समुदायको योगदानले देशको मौलिक पहिचान जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो। मुख्यमन्त्री बानियाँले राजनीति सही ट्र्याकमा नहुँदा भाषा र संस्कृतिको संरक्षण कमजोर हुने उल्लेख गर्दै राज्य सञ्चालन गर्ने नेतृत्वले संस्कृति, इतिहास र सभ्यतालाई राजनीतिक स्वार्थभन्दा माथि राख्नुपर्ने बताए। “राष्ट्र बलियो बनाउन केवल भौतिक पूर्वाधार निर्माण पर्याप्त हुँदैन, आफ्नो इतिहास, संस्कृति र सभ्यतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ। उनले नेपालका मल्लकाल, शाहकाल, राणाकालदेखि प्रजातान्त्रिक आन्दोलनसम्मका सम्पदा र ऐतिहासिक धरोहर सबै नेपालीको साझा सम्पत्ति भएको उल्लेख गर्दै ती सम्पदाको संरक्षणमा कुनै राजनीतिक पूर्वाग्रह नराखी अघि बढ्नुपर्ने बताए। “हामीले भविष्यका पुस्तालाई यो पनि बताउन सक्नुपर्छ कि नेपालमा १०४ वर्षसम्म राणा शासन किन रह्यो, त्यसअघि मल्लकालको योगदान के थियो र विभिन्न कालखण्डले राष्ट्र निर्माणमा के–कस्ता प्रभाव पारे । मुख्यमन्त्री बानियाँले आदिकवि भानुभक्त आचार्य, जनकवि लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइरालालगायत राष्ट्रका विशिष्ट व्यक्तित्वहरूको योगदान नयाँ पुस्ताले जान्न आवश्यक रहेको बताए। उनले इतिहास र साहित्यका महान् व्यक्तित्वको योगदानबाट प्रेरणा लिँदै राष्ट्र निर्माणको चेतना विकास गर्नुपर्नेमा जोड दिए।

उनले अहिलेको पुस्तामा नैतिक शिक्षा, सामाजिक उत्तरदायित्व, इतिहास र सांस्कृतिक चेतनाको कमी देखिन थालेको उल्लेख गर्दै विद्यालय शिक्षादेखि नै नैतिक शिक्षा, संस्कृति, इतिहास र मौलिक पहिचानसम्बन्धी विषयलाई प्रभावकारी रूपमा समेट्नुपर्ने धारणा व्यक्त गरे। “भविष्यको पुस्ताले आफ्नो भाषा, इतिहास, संस्कार र संस्कृति बिर्सियो भने राष्ट्रको मौलिक पहिचान नै संकटमा पर्न सक्छ । मुख्यमन्त्री बानियाँले सरकारले भाषा, कला, संस्कृति र सम्पदा संरक्षणका क्षेत्रमा विभिन्न नीति तथा कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै यस्ता अभियानमा समुदाय, स्थानीय तह, शैक्षिक संस्था र सरकारबीच अझ सशक्त सहकार्य आवश्यक रहेको बताए। उनले सांस्कृतिक सम्पदाको संरक्षणले राष्ट्रिय एकतालाई मजबुत बनाउनुका साथै पर्यटन, स्थानीय अर्थतन्त्र र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न पनि महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे। कार्यक्रममा यल नेवाः समाजका पदाधिकारी, विभिन्न सांस्कृतिक तथा सामाजिक संस्थाका प्रतिनिधि, बुद्धिजीवी, जनप्रतिनिधि, नेवाः समुदायका अगुवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नेपाः भाषा, नेवाः सभ्यता, सांस्कृतिक सम्पदाको संरक्षण तथा नयाँ पुस्तामा भाषा र संस्कृतिको हस्तान्तरणका विषयमा समेत विस्तृत छलफल गरिएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *