बागमती प्रदेश सरकारलाई निरन्तरता दिन कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री बानियाँलाई जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले बागमती प्रदेश सरकारलाई निरन्तरता दिन संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आवश्यक पहल गर्ने जिम्मेवारी सर्वसम्मत रूपमा प्रदान गरेको छ। नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारमा सहभागी मन्त्रीहरूले समेत राजीनामा दिएपछि उत्पन्न राजनीतिक परिस्थितिमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिन प्रदेश सभामा रहेका सबै राजनीतिक दलसँग लिखित तथा मौखिक समन्वय गर्दै आवश्यक समर्थन जुटाउने जिम्मेवारी मुख्यमन्त्री बानियाँलाई दिइएको निर्णय गरिएको हो।

यसका लागि केन्द्रीय नेतृत्वसँग समेत समन्वय गरेर आवश्यक प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ। त्यसैगरी, नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री तथा तत्कालीन नेपाली कांग्रेसका कार्यवाहक सभापति गोपालमान श्रेष्ठको ७७ वर्षको उमेरमा निधन भएकोप्रति बागमती प्रदेश सभा संसदीय दलले गहिरो दुःख व्यक्त गरेको छ।

दलले स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।


















