भियतनामको प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ सम्मानित

काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ भियतनामको परराष्ट्र मन्त्रालयद्वारा प्रदान गरिने प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ बाट सम्मानित भएका छन्। मन्त्रालयले प्रमाणपत्रसहित उक्त सम्मान प्रदान गर्दै नेपाल–भियतनाम सम्बन्ध सुदृढ बनाउन श्रेष्ठले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरेको हो। भियतनामको परराष्ट्र मन्त्रालयले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, संस्कृति तथा कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन सेतुको भूमिका निर्वाह गर्नुका साथै नेपालस्थित भियतनामी नागरिक तथा व्यवसायीलाई आवश्यक सहजीकरण उपलब्ध गराउँदै द्विपक्षीय सहयोग विस्तारमा खेलेको सक्रिय भूमिकाका लागि श्रेष्ठलाई ‘भियतनामको वैदेशिक सेवामा योगदान’ अन्तर्गत उक्त सम्मान प्रदान गरेको जनाएको छ। कन्सुलर सेवामा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिमध्ये अग्रस्थानमा राखेर प्रदान गरिएको सम्मानपत्रमा भियतनामका परराष्ट्र मन्त्री हो बिन्ह ट्रुङको हस्ताक्षर रहेको छ। सम्मानपत्रमा श्रेष्ठले नेपाल–भियतनामबीचको कूटनीतिक सम्बन्ध सुदृढ बनाउन, आपसी सहकार्य विस्तार गर्न तथा भियतनामको वैदेशिक सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएको उल्लेख गरिएको छ।

मन्त्रालयले श्रेष्ठले भियतनामको कूटनीतिक क्षेत्रको विकास, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा वैदेशिक सेवाको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनको योगदानको विशेष प्रशंसा गरेको छ। सम्मान ग्रहणपछि अवैतनिक महावाणिज्यदूत श्रेष्ठले भियतनाम सरकार, परराष्ट्र मन्त्रालय, नयाँ दिल्लीस्थित भियतनाम दूतावास तथा सम्पूर्ण सम्बद्ध निकायप्रति आभार व्यक्त गर्दै नेपाल–भियतनामबीचको सहकार्यलाई अझ प्रभावकारी, सुदृढ र परिणाममुखी बनाउन निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए। श्रेष्ठले नेपाल र भियतनामबीच प्रत्यक्ष हवाई उडान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार प्रत्यक्ष हवाई सम्पर्क स्थापना भएमा बौद्ध पर्यटन, व्यापार, लगानी तथा सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण योगदान पुग्नेछ। नेपाल बुद्धको जन्मस्थल तथा भियतनाम समृद्ध बौद्ध सम्पदा र ठूलो बौद्ध समुदाय भएको मुलुक भएकाले धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन प्रत्यक्ष हवाई सम्पर्क अत्यावश्यक रहेको उनको भनाइ थियो। श्रेष्ठले लुम्बिनीलाई केन्द्रमा राखेर बौद्ध पर्यटनको प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै सिधा उडान सञ्चालन भए धार्मिक पर्यटनसँगै सांस्कृतिक आदान–प्रदान, शैक्षिक सहकार्य र व्यावसायिक साझेदारीसमेत उल्लेखनीय रूपमा विस्तार हुने विश्वास व्यक्त गरे। उनले सूचना प्रविधि, पर्यटन, सेवा, शिक्षा, उत्पादन, कृषि, खाद्य प्रशोधन, पूर्वाधार, नवीकरणीय ऊर्जा, खानी तथा खनिज र लगानीका क्षेत्रमा नेपाल र भियतनामबीच व्यापक सहकार्यको सम्भावना रहेको उल्लेख गर्नुभयो। यी क्षेत्रमा संयुक्त लगानी तथा साझेदारीमार्फत दुवै मुलुकले पारस्परिक लाभ हासिल गर्न सक्ने उनको भनाइ छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *