पञ्चकन्याका सीपीभीसी पाइप र एसएस ट्यांकीलाई अन्तर्राष्ट्रिय ‘ग्रीन प्रो’ मानक

काठमाडौं । नेपालको अग्रणी औद्योगिक घराना पञ्चकन्या समूहले उत्पादन गर्ने सीपीभीसी पाइप र स्टेनलेस स्टिल ट्यांकीले वातावरण संरक्षण तथा दिगो विकासका क्षेत्रमा प्रदान गरिने प्रतिष्ठित ‘ग्रीन प्रो’ अन्तर्राष्ट्रिय मानक प्राप्त गरेका छन्। भारतको पुणेमा आयोजित नवौं संस्करणको सीआईआई ग्रीन प्रो समिट–२०२६ का अवसरमा भारतको वातावरण तथा दिगो विकासका क्षेत्रमा कार्यरत संस्था कन्फेडेरेशन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) ले पञ्चकन्या समूहअन्तर्गतको पञ्चकन्या प्लास्ट प्रालि (सीपीभीसी पाइप) र पञ्चकन्या एसएस प्रालि (स्टेनलेस स्टिल ट्यांकी) लाई उक्त मानक प्रदान गरेको हो।ग्रीन प्रो मानक कुनै पनि उत्पादनको सम्पूर्ण उत्पादन चक्र, वातावरणीय प्रभाव, दिगो विकास, नवीकरणीय ऊर्जा प्रविधिको उपयोग, कार्बन उत्सर्जन न्यूनीकरण तथा औद्योगिक सुरक्षालगायत विभिन्न मापदण्डको विस्तृत मूल्याङ्कनपछि मात्र प्रदान गरिन्छ। पञ्चकन्याका सीपीभीसी पाइप र स्टेनलेस स्टिल ट्यांकीले ती सबै मापदण्ड पूरा गरेपछि अन्तर्राष्ट्रिय स्तरको यो मान्यता प्राप्त गरेका हुन्। यसअघि पनि पञ्चकन्या समूहअन्तर्गतको पञ्चकन्या स्टिल प्रालि ले उत्पादन गर्ने फलामे छडले नेपालमै पहिलो पटक ग्रीन प्रो मानक प्राप्त गरेको थियो। समूहले एक वर्षअघि उक्त उपलब्धि हासिल गरेको थियो। पञ्चकन्या समूहले उद्योग स्थापना भएदेखि नै गुणस्तरीय उत्पादनसँगै वातावरण संरक्षण र दिगो औद्योगिक विकासलाई प्राथमिकतामा राख्दै उत्पादन प्रक्रिया सञ्चालन गर्दै आएको जनाएको छ। नवीकरणीय ऊर्जा क्षेत्रमा गरेको लगानीका लागि समूहले विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदार तथा दातृ संस्थाबाट पटक–पटक सम्मानसमेत प्राप्त गरिसकेको छ।

समूहले करिब एक दशकअघि नेपालमै पहिलो पटक स्टेनलेस स्टिल ट्यांकी उत्पादन सुरु गरेको थियो। हाल काठमाडौं र रुपन्देहीको कोटिहवास्थित उद्योगबाट १२५ लिटरदेखि १० हजार लिटरसम्म क्षमताका स्टेनलेस स्टिल ट्यांकी उत्पादन भइरहेका छन्। उद्योगले विगत आठ वर्षदेखि भारतका गोरखपुर, लखनउ, बस्ती र कोलकातामा आधिकारिक वितरकमार्फत आफ्ना उत्पादन निर्यात गर्दै आएको छ। दक्षिण भारतको बेङ्गलुरुलगायतका क्षेत्रबाट पनि ट्यांकीको माग आउने गरेको भए पनि उच्च ढुवानी लागतका कारण ती क्षेत्रमा नियमित आपूर्ति गर्न नसकिएको उद्योगका महाप्रबन्धक देवेन्द्र साहले जानकारी दिए। त्यसैगरी, नेपालमा पहिलो पटक सीपीभीसी पाइप उत्पादन गर्ने श्रेय पनि पञ्चकन्या समूहलाई नै जान्छ। समूहले २०६३ मा जापानी कच्चा पदार्थ प्रयोग गरी नेपालमै पहिलो पटक सीपीभीसी पाइप उत्पादन सुरु गरेको थियो। हाल उद्योगले १५ एमएमदेखि १०० एमएमसम्मका सीपीभीसी पाइप उत्पादन गर्दै आएको छ। साथै, नेपाल गुणस्तर (एनएस) चिन्ह प्राप्त गर्ने पहिलो सीपीभीसी पाइप उत्पादक उद्योग पनि पञ्चकन्या समूह नै रहेको कम्पनीले जनाएको छ। ग्रीन प्रो मानक प्राप्त गरेसँगै पञ्चकन्या समूहले आफ्ना ग्राहक, व्यवसायिक साझेदार, वितरक तथा सम्पूर्ण सरोकारवालाप्रति विश्वास र निरन्तर सहयोगका लागि आभार व्यक्त गरेको छ। समूहले आगामी दिनमा पनि गुणस्तरीय, नवप्रवर्तनयुक्त तथा वातावरणमैत्री उत्पादन बजारमा उपलब्ध गराउने प्रतिबद्धता दोहोराएको जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *