केपी ओलीको निवासमा ढलेका नेता थपलिया वीर अस्पताल भर्ना

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया मंगलबार अपराह्न वीर अस्पताल भर्ना भएका छन् । सोमबार राति पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर, गुन्डुस्थित निवासमा आयोजित बैठकमा सहभागी भइरहेका बेला अचानक बेहोस भएर ढलेका थपलियालाई स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । बागमती प्रदेशमा नयाँ सरकार गठनको विषयमा छलफल गर्न सोमबार साँझ ७ बजेदेखि सुरु भएको बैठक मध्यरात १ बजेसम्म चलेको थियो । बैठकमा प्रदेश इन्चार्ज महेश बस्नेतसहित १७ जना सांसदहरूको उपस्थिति थियो । स्रोतका अनुसार बैठकमा सहभागी अधिकांश सांसदहरूले थपलियामाथि सरकार बनाउन नसकेको र प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै राजीनामा दिन दबाब दिएका थिए । खासगरी किरण थापा मगरको पक्षमा रहेका १४ जना सांसदहरूले थपलियाको योग्यतामाथि प्रश्न उठाएका थिए । ५० वर्षभन्दा बढी पार्टीमा योगदान गरेको आफू आज कसरी अयोग्य भएँ भन्दै थपलियाले बैठकमा आफ्नो त्याग र निष्ठामाथि अन्याय भएको गुनासो गरेका थिए । छलफलकै क्रममा अध्यक्ष केपी शर्मा ओलीले समेत थपलियाको पक्ष नलिनु र उल्टै ‘दपेट्ने’ शैलीमा प्रस्तुत भएपछि तनाव उत्कर्षमा पुगेको थियो । सोही क्रममा बोल्दाबोल्दै थपलिया अचेत भएर ढलेका हुन् । उनी ढलेपछि ओलीले सहानुभूति देखाउनुको सट्टा ‘यति सहन नसकेर ढल्ने मान्छेले कसरी नेतृत्व गर्नुहुन्छ ?’ भन्दै असहिष्णु टिप्पणी गरेको स्रोतको दाबी छ । बेहोस भएका थपलियालाई नेताहरू निरु पाल र नेता दावा दोर्जे लामाले पानी छर्किएर उठाएका थिए ।

त्यसपछि सांसदहरू केशव पोखरेल र दावा दोर्जे लामाले उनलाई राति नै मध्यपुर ठिमी अस्पताल पुर्‍याएका थिए । एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले भने थपलिया बेहोस भएको समाचारलाई भ्रामक भन्दै फेसबुकमार्फत खण्डन गरेका छन् । उनले थपलिया छलफलका क्रममा भावुक भएर गला मात्र अवरुद्ध भएको दाबी गरेका छन् । यद्यपि, अस्पताल स्रोतका अनुसार थपलियाको सुगर र प्रेसर दुवैको स्तर निकै बढेको पाइएको थियो । ठिमी अस्पतालमा प्राथमिक उपचारपछि कोठामा फर्किएका उनलाई मंगलबार पुनः समस्या देखिएपछि छोरा सुरज थपलियाले वीर अस्पताल पुर्‍याएका हुन् । वीर अस्पतालका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार थपलियालाई मंगलबार अपराह्न ४ बजे सर्जिकल भवनको तेस्रो तलास्थित क्याबिनमा भर्ना गरिएको छ । थपलिया टाइप–२ मधुमेहका पुराना बिरामी भएकाले उनलाई सलाइन चढाएर निरन्तर चिकित्सकीय निगरानीमा राखिएको अस्पतालले जनाएको छ । बागमती प्रदेशमा नेतृत्व परिवर्तनको विषयलाई लिएर एमालेभित्र विवाद चुलिएको छ । केही दिनअघि थपलियालाई नै मुख्यमन्त्री बनाउने सहमति भए पनि पछिल्लो समय किरण थापाले बहुमत सांसदको समर्थन आफूलाई रहेको दाबी गरेपछि परिस्थिति जटिल बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *