पूँजीबजार सुधारका लागि धितोपत्र बोर्डले बनायो छुट्टाछुट्टै दुई समिति
काठमाण्डौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३।८४ को पूँजीबजार नीति तथा बजेटमा उल्लेख गरिएका सुधारका कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिँदै प्राथमिक बजार र दोस्रो बजार सुधारका लागि दुई छुट्टाछुट्टै समिति गठन गरेको छ। प्राथमिक बजारतर्फ बोर्डले ‘प्राथमिक बजार सुधार सहजीकरण कार्यदल (Primary Market Reform Facilitating Task Force)’ गठन गरेको छ। बोर्डको नियमन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा रहेको सात सदस्यीय कार्यदलमा बोर्डका तीन कर्मचारी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का एक प्रतिनिधि, मर्चेन्ट बैंकर्स एशोसिएसन अफ नेपालका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका संयोजक सदस्य रहेका छन्। उक्त कार्यदलले आवश्यकताअनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN), विद्युत नियमन आयोग (ERC), स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (IPPAN), स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (SBAN), सिडिएस एण्ड क्लियरिङ लिमिटेड(CDSC) लगायत अन्य सरोकारवाला निकायका विज्ञलाई समेत आमन्त्रण गर्न सक्ने व्यवस्था गरिएको छ। कार्यदलले सार्वजनिक निष्काशन (IPO), बुक बिल्डिङ, मर्चेन्ट बैंकर, आईपीओ बाँडफाँट, डिजिटल आईपीओ, आईपीओ योग्यता, मूल्य निर्धारण, संस्थागत लगानीकर्ता, एङ्कर इन्भेष्टर, ड्यु डिलिजेन्स तथा पोस्ट इश्यू मोनिटरिङ लगायतका विषयमा अध्ययन गरी सुधारका लागि सुझाव दिने जिम्मेवारी पाएको छ। त्यसैगरी, दोस्रो बजार सुधारका लागि बोर्डको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ। समितिमा बोर्डका तीन प्रतिनिधिसहित नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) तथा स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (SBAN) का एक–एक प्रतिनिधि सदस्य रहेका छन्। यो समितिले मार्जिन लेन्डिङ (Margin Lending), इन्ट्राडे कारोबार (Intraday Trading), धितोपत्र सापटी तथा उधारो (Securities Lending and Borrowing) र आवरणयुक्त शर्ट सेलिङ (Covered Short Selling) कार्यान्वयनका लागि आवश्यक कानुनी, प्राविधिक, सञ्चालन तथा प्रक्रियागत व्यवस्थामा सुझाव दिने, चरणबद्ध कार्यान्वयनको तयारी गर्ने तथा सम्बन्धित निकायसँग समन्वय गर्ने जिम्मेवारी पाएको छ। बोर्डले दोस्रो बजार सुधार योजनाअन्तर्गत पहिलो चरणमा मार्जिन लेन्डिङ, दोस्रो चरणमा इन्ट्राडे कारोबार, तेस्रो चरणमा धितोपत्र सापटी तथा उधारो र चौथो चरणमा आवरणयुक्त शर्ट सेलिङ लागू गर्ने नीति अघि सारेको छ। सोहीअनुसार समितिले मार्जिन लेन्डिङ सम्बन्धी नियमावलीको मस्यौदामाथि छलफल सुरु गर्दै आफ्नो काम प्रारम्भ गरेको बोर्डले जनाएको छ। सेबोनका अनुसार यी दुई समिति गठनसँगै प्राथमिक तथा दोस्रो बजारमा नियामकीय सुधार, आधुनिक कारोबार प्रणालीको विकास, लगानीकर्ता संरक्षण तथा बजारको पारदर्शिता र विश्वसनीयता अभिवृद्धि गर्ने लक्ष्यलाई व्यवहारमा उतार्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

















