वाग्मती सरकारका मन्त्री बज्राचार्यले लिए शपथ

हेटौँडा । वाग्मती प्रदेश सरकारका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार अपराह्न मकवानपुरको हेटौँडामा आयोजित एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई नेपालको संविधानको धारा १७२ बमोजिम शपथ खुवाएका हुन् । वाग्मतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबारै दिउँसो उनलाई भौतिक पूर्वाधारमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए । यसअघि भौतिक पूर्वाधार विकासमन्त्री रहेकी विनु रायमाझी पौडेलले मंगलबारै पदबाट राजीनामा दिएकी थिइन् ।

रायमाझीको राजीनामासँगै मुख्यमन्त्री बानियाँले संविधानको धारा १६८ को उपधारा (९) अनुसार मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन गरी बज्राचार्यलाई मन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए । नवनियुक्त मन्त्री बज्राचार्य काठमाडौं क्षेत्र नम्बर–८ ‘क’बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनले हाम्रो नेपाली पार्टी (हानेपा)बाट प्रतिनिधित्व गर्छन् । वाग्मती प्रदेशसभामा हानेपाका दुई सांसद छन् । वाग्मती सरकारमा अब मुख्यमन्त्री बानियाँ, आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री शिवराज अधिकारी, कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री उर्मिला नेपाल, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे छन् । यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री सुरेश श्रेष्ठ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ र भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारीमा शैलेन्द्रमान बज्राचार्य छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *