सत्ता र शक्ति पार्टीको लक्ष्य होइन, साधन मात्र हुन् : सभापति थापा
भक्तपुर । स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र शक्तिलाई राजनीतिको अन्तिम लक्ष्य बनाउन नहुने बताएका छन्। थापाले सत्ता र शक्ति केवल नागरिकको सेवा गर्ने साधन मात्र भएको स्पष्ट पारेका हुन् । राजनीतिमा सिद्धान्त सबैभन्दा माथि हुनुपर्नेमा जोड दिँदै उनले सिद्धान्तसँग सम्झौता गरेर प्राप्त हुने शक्तिको कुनै अर्थ नहुने बताए। कांग्रेसको आत्मा सत्तामा नभई त्याग र समाजसेवामा रहेको उनको भनाइ थियो। उनले भने, ‘सत्ता र शक्ति प्राइमरी होइन, फाइनल पनि होइन। यो केवल साधन र माध्यम मात्रै हो।’ नागरिकको भलो गर्नका लागि मात्र पदको आवश्यकता पर्ने कुरा उनले स्मरण गराए। कार्यक्रममा सभापति थापाले कांग्रेस संस्थापक बीपी कोइराला र सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मरण गरेका थिए। आफूले बीपीलाई प्रत्यक्ष नदेखे पनि आफ्नो जीवनमा सबैभन्दा बढी प्रभाव पार्ने व्यक्ति बीपी नै भएको उनले बताए। बीपीप्रतिको आफ्नो आस्था भगवानप्रतिको विश्वास जस्तै रहेको उनको भनाइ थियो। पदभन्दा प्रतिष्ठा र विश्वास ठूलो हुने कुरा बुझाउन उनले सन्त नेता कृष्णप्रसाद भट्टराईसँगको एउटा स्मरण सुनाए। आफू १७ वर्षको हुँदा एउटा कार्यक्रममा उद्घोषण गर्दा भट्टराईलाई भूतपूर्व सन्त नेता भनेर सम्बोधन गर्दा भट्टराईले सच्याएको उनले बताए। ‘पद भूतपूर्व हुन्छ। तर, विश्वासबाट आर्जन गरेको सन्त भन्ने कुरा कहिल्यै भूतपूर्व हुँदैन,’ भट्टराईको भनाइ उद्धृत गर्दै थापाले भने। पद प्राप्त गर्नु वा चुनाव जित्नु मात्रै सफलताको मानक नभएको भन्दै उनले श्यामबहादुर कार्की जस्ता व्यक्तिले पदमा नरहेर पनि कमाएको प्रतिष्ठा नै वास्तविक सफलता भएको प्रष्ट पारे। पञ्चायत र माओवादी द्वन्द्वकालमा धेरै कांग्रेस कार्यकर्ताले दुःख पाएको र ज्यान गुमाएको स्मरण गर्दै उनले तिनै सामान्य परिवारको त्यागले कांग्रेस उभिएको बताए। बाँकेमा मारिएका एक नेविसंघ नेताकी आमाले पद र अवसर नखोजेर पार्टीप्रतिको आस्था मात्र राखेको उदाहरण दिँदै उनले यस्तै निस्वार्थ कार्यकर्ता नै कांग्रेसको वास्तविक शक्ति भएको बताए।

पार्टीभित्रका नमिलेका कुराहरूलाई मिलाएर कांग्रेसलाई एक ढिक्का बनाउनुपर्नेमा उनले जोड दिए। कार्यकर्ताहरूले छाती फुलाएर गर्वका साथ आफू कांग्रेस भएको बताउन सक्ने गौरवशाली पार्टी बनाउनुपर्ने उनको भनाइ छ। विद्यालय बनाउन जग्गा दिने, विना तलब पढाउने र समाजसेवामा खटिने पुरानो पुस्ताको चरित्र नै कांग्रेसको सक्कली पहिचान भएको उनले बताए। श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले समाजमा पुर्याएको योगदानको उनले प्रशंसा गरे। कार्की परिवारको मात्र नभई सम्पूर्ण समाजको प्रेरणाको स्रोत बनेको भन्दै उनले प्रतिष्ठानले गर्दै आएको रक्तदान र छात्रवृत्ति वितरण जस्ता कामलाई निरन्तरता दिन आग्रह गरे। मन्तव्यको अन्त्यमा सभापति थापाले पार्टीको आगामी केन्द्रीय समिति बैठकले महत्त्वपूर्ण निर्णयहरू गर्ने जानकारी दिए। उक्त बैठकपछि कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्ने उनले स्पष्ट पारे। श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले गणेश आधारभुत बिद्यालयका बिधार्थीहरुलाई स्कुल ब्याग हस्तान्तरण गरिएको थियो । साथै सो कार्यक्रममा ५१ जनाले रक्तदान गरिएको थियो भने कार्यक्रमको समापन श्यामबहादुर कार्कीका जेष्ठ सुपुत्र बिष्णुराज कार्कीले गर्नुभएको थियो ।
















