कांग्रेसद्वारा ग्यास अभावप्रति सरकारको ध्यानाकर्षण र बिजुलीको भ्याट फिर्ता लिन माग
काठमाडौँ । नेपाली कांग्रेसले मुलुकमा व्याप्त दैनिक जनजीवनका समस्याहरूलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिन सोमबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले बैठकमा मुख्य गरी जनताले भोग्नुपरेका आर्थिक र व्यावहारिक कठिनाइहरूबारे छलफल भएको जानकारी दिए । प्रवक्ता चालिसेका अनुसार बैठकले भान्सामा प्रयोग हुने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थामा देखिएको कमजोरीप्रति सरकारलाई सचेत गराएको छ । जनता ग्यासका लागि लामो लाइन बस्न बाध्य छन्, यो युद्धको कारण मात्र नभई सरकारको भण्डारण क्षमताको अभाव र गलत व्यवस्थापकीय शैलीका कारण भएको हो, चालिसेले भने । यस्तै, अघिल्लो सरकारले बिजुली खपत बढाउन र इन्डक्सन चुल्होलाई प्रोत्साहन गर्ने नीति लिएको भए पनि वर्तमान सरकारले बिजुलीमा भ्याट लगाएर जनतालाई थप भार थपेको कांग्रेसको ठहर छ ।
कांग्रेसले बिजुलीमा लगाइएको भ्याट तत्काल फिर्ता लिन र इन्डक्सन चुल्होको प्रयोगलाई सहज बनाउन माग गरेको छ । खेतीपातीको मुख्य सिजनमा किसानले रासायनिक मल नपाएको विषयलाई कांग्रेसले प्राथमिकताका साथ उठाएको छ । प्रवक्ता चालिसेले भने, मलको अभावले भोलि देशमा खाद्य संकट आउन सक्छ । सीमावर्ती क्षेत्रमा किसानहरू लुटिएका र पिटिएका छन्, तर सरकार मूकदर्शक बनेको छ । कांग्रेसले मलको कालोबजारी रोक्न र दीर्घकालीन रूपमा स्वदेशमै मल कारखाना स्थापना गर्ने नीति बनाउन सरकारसँग आग्रह गरेको छ । बजारमा आकाशिएको महँगीले न्यून आय भएका जनताको जीवन कष्टकर बनेको भन्दै कांग्रेसले सरकारको फितलो अनुगमन संयन्त्रको आलोचना गरेको छ । बजार नियन्त्रण गरी जनतालाई राहत दिने प्रभावकारी कदम चाल्न प्रवक्ता चालिसेले सरकारलाई अपिल गरे । आजको बैठक विशेष गरी जनताको जीविकासँग जोडिएका विषयमा केन्द्रित रहेको र भोलि (सोमबार) को बैठकमा समसामयिक राजनीति, पार्टीको आगामी अधिवेशन र अन्य साङ्गठनिक विषयहरूमा छलफल हुने प्रवक्ता चालिसेले जानकारी दिए ।
















