चमेली कल्याणकारी साकोसले गर्यो वित्तीय तथा संस्थागत उपलब्धिको समीक्षा

भक्तपुर। चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८२।०८३ मा हासिल गरेका वित्तीय तथा संस्थागत उपलब्धिको समीक्षा गरेको छ । संस्थाले आगामी आर्थिक वर्षलाई थप सदस्यकेन्द्रित, प्रविधिमैत्री र दिगो विकासमुखी बनाउने प्रतिबद्धता समेत जनाएको छ। संस्थाको सभाहलमा हालै आयोजित संयुक्त बैठकमा वार्षिक कार्यक्रमको कार्यान्वयन अवस्था, वित्तीय उपलब्धि तथा आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि प्रस्तावित कार्यक्रम र बजेटमाथि छलफल गरिएको हो। बैठकमा आर्थिक वर्ष २०८२।०८३ मा सम्पन्न कार्यक्रम तथा आगामी आर्थिक वर्षका प्रस्तावित कार्यक्रमका बारेमा कार्यबाहक सचिव प्रकाश न्यौपानेले प्रस्तुत गरेका थिए । त्यस्तै, संस्थाको वित्तीय उपलब्धि तथा आगामी वर्षको प्रस्तावित बजेट कोषाध्यक्ष नवराज घिमिरेले प्रस्तुत गरे। छलफलका क्रममा गत आर्थिक वर्षको कार्यसम्पादन र उपलब्धि सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै आगामी आर्थिक वर्षका कार्यक्रम तथा बजेटलाई संस्थाको वास्तविक स्रोत, क्षमता र सदस्यको आवश्यकतासँग जोडेर कार्यान्वयन गरिने भएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म संस्थाको शेयर पुँजी २८ लाख ७१ हजार रुपैयाँले वृद्धि भई ६ करोड ८३ लाख ८१ हजार रुपैयाँ पुगेको छ। विभिन्न कोषहरुमा १५ करोड ५४ लाख रकम पुगेको छ । त्यस्तै, बचततर्फ ३ करोड ५५ लाख ६४ हजार रुपैयाँ वृद्धि भइ ८५ करोड २३ लाख पुगेको छ। त्यस्तै, ऋण लगानीतर्फ २ करोड २१ लाखले वृद्धि भइ ७३ करोड ३४ लाख ९८ हजार पुगेको । त्यस अवधिमा संस्थाको कुल वासलात १ अर्ब ११ करोड २२ लाख पुगेको छ। संस्थामा असार मसान्तसम्म २७ करोड ९० लाख ९२ हजार तरलता रहेको छ। बैठकले आगामी आर्थिक वर्ष २०८३।०८४ मा सदस्य–मैत्री गतिविधि, दक्षता अभिवृद्धि, क्षमता विकास, सुशासन, ऐन–नियमको प्रभावकारी परिपालना, उच्चतम प्रविधिको उपयोग र दिगो विकासलाई प्राथमिकतामा राख्ने निर्णय गरेको व्यवस्थापक सुदर्शन चौलागाईंले बताए । संस्थाले हालसम्म प्राप्त गरेको उपलब्धिलाई आगामी यात्राको आधार बनाउँदै चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने र संस्थालाई थप सबल बनाउने उद्देश्यसहित प्रस्तावित कार्यक्रम तथा बजेट कार्यान्वयनमा लागिपर्ने उनको भनाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *