यति डिस्टिलरीको आर्थिक वर्षमा पौने ६ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । नेपाली बजारमा ८८४८ भोड्का र ओल्ड दरबार ह्विस्की बेच्ने कम्पनीले गत आर्थिक वर्षमा पौने ६ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवमा ५ अर्ब ८५ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो । कम्पनीले सन् २०२५ मा ५ अबै ९१ करोड ८० लाख रुपैयाँ, सन् २०२४ मा ४ अर्ब ७३ करोड ५० लाख रुपैयाँ, सन् २०२३ मा ५ अर्ब १७ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा ५ अर्ब ७२ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले उत्पादन गर्दै आएको ओल्ड दरबार ह्विस्की र ८८४८ भोड्काको नेपाली बजारमा उच्च माग छ । उक्त दुई ब्रान्डको ह्विस्की तथा भोड्का बजारमा बलियो बजार हिस्सा रहेको छ । साथै, यति डिस्टिलरी नेपालका मदिरा उद्योगका ठूला खेलाडीमध्ये एक हो । कम्पनीले विभिन्न ब्रान्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीको मुख्य उत्पादन मध्ये २५ युपीको ८८४८ भोड्का र ३० युपीको ओल्ड दरबार ह्वीस्की हुन् । कम्पनीले गत आवको ९ महिनामा गरेको कारोबारमध्ये दुई वटा वस्तुको हिस्सा ९१ प्रतिशत छन् । यस हिसाबले यी दुई ब्रान्डबाट कम्पनीको बाँकी व्यापार ५ अर्ब ३२ करोड रुपैयाँ हुन आउँछ । बाँकी आम्दानी ७० युपी उत्पादनबाट भएको उल्लेख छ । कम्पनीको गियरिङ अनुपात ०.६ गुणा रहेको छ ।

कम्पनीको डेब्ट सर्भिस कभरेज रेसियो सुधार भई ५.५ गुणा पुगेको छ । सन् २०२५ मा कम्पनीको नाफा मार्जिन २८ प्रतिशत थियो । गत आवमा थप सुधार भई सञ्चालन नाफा करिब ३० प्रतिशत छ । कम्पनीको कुल बाह्य दायित्व तथा कुल नेटवर्थ २.७ गुणा रहेको छ । कम्पनीमा रवि केसीको ५० प्रतिशत र अभिषेक श्रेष्ठ तथा उनको परिवारको ५० प्रतिशत स्वामित्व छ । कम्पनीले मदिरा उत्पादनसँगै ब्लेन्डिङ र बोटलिङको कार्य गर्दै आएको छ । यति डिस्टिलरीले मदिरा उत्पादन तयार गर्न पाँच वटा प्रशोधन लाइन प्रयोग गर्दै आएको छ । जस अनुसार कम्पनीले दैनिक ९ हजार केस क्षमतामा बोटलिङ गर्दै आएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब ७२ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ । जसअनुसार दीर्घकालीन ७२ करोड ९९ लाख रुपैयाँ कर्जाका लागि एलए र अल्पकालीन कर्जाका लागि ४ अर्ब ९९ करोड ४० लाख रुपैयाँको ए१ रेटिङ प्राप्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *