मर्यादित महिनावारीका लागि नबिल बैंकको पहल
काठमाडौँ । महिनावारीका कारण विद्यालयमा छात्राको पढाइ प्रभावित हुने समस्या न्यूनीकरण गर्न नबिल बैंकले सामुदायिक विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान अभियान सञ्चालन गरेको छ । बैंकले ‘नबिल सिक्योरिङ हेल्थ एण्ड इम्पावरमेन्ट’ (एसएचई) परियोजनाअन्तर्गत सञ्चालन गरेको अभियानबाट हालसम्म ५० हजारभन्दा बढी छात्रा लाभान्वित भएको जनाएको छ । महिनावारीका विषयमा अझै पनि समाजमा खुलेर कुराकानी गर्न सहज वातावरण नहुँदा विद्यालयमा छात्राले स्यानिटरी प्याड माग्नसमेत अप्ठ्यारो मान्ने गरेका छन् । विशेषगरी ग्रामीण क्षेत्रका किशोरी महिनावारी भएका बेला विद्यालय नजाने वा विद्यालय पुगेपछि घर फर्किने अवस्था रहेको विभिन्न अध्ययनले देखाएका छन् । यही समस्या समाधानका लागि नबिल बैंकले विद्यालयमा छात्राले आवश्यक परेको समयमा आफैं स्यानिटरी प्याड निकाल्न सक्ने गरी भेन्डिङ मेसिन जडान गरेको हो । बैंकका अनुसार अभियानअन्तर्गत हालसम्म देशका सातै प्रदेशका १०४ सामुदायिक विद्यालयमा भेन्डिङ मेसिन जडान भइसकेको छ । सिराहास्थित जनता माध्यमिक प्राविधिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कञ्चनकुमारी मण्डलका अनुसार विद्यालयमा यसअघि स्यानिटरी प्याड उपलब्ध भए पनि छात्राले माग्न लाज मान्ने गरेका थिए । विशेषगरी पुरुष शिक्षक भएका बेला प्याड माग्न असहज हुने गरेको उनको अनुभव छ । “मिससँग त माग्न सकिन्थ्यो तर सरहरु हुँदा लाज लाग्थ्यो,” उनले भनिन्, “विद्यालय पुगेपछि महिनावारी भयो भने कतिपय साथीहरु सञ्चो भएन भन्दै घर फर्किन्थे । दिनभरका लागि स्यानिटरी प्याड चाहियो भन्दै कति पटक माग्न जानु ?” विद्यालयमा भेन्डिङ मेसिन जडान भएपछि भने छात्राले आवश्यक परेको समयमा आफैं स्यानिटरी प्याड लिन सक्ने भएकाले समस्या समाधान भएको मण्डलले बताइन् । कैलालीको श्री जन जागृति माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत पवित्रा चौलागाईंले पनि भेन्डिङ मेसिनबाट सहज रूपमा स्यानिटरी प्याड लिन सकिने भएपछि महिनावारीका बेला विद्यालय नआउने समस्या कम भएको बताइन् । “चाहिएको अवस्थामा हामी सिधै भेन्डिङ मेसिनबाट स्यानिटरी प्याड लिन्छौं ।
भेन्डिङ मेसिन राखेपछि हाम्रो समस्या समाधान भएको छ,” उनले भनिन् । नबिल बैंकका नायब कार्यकारी अधिकृत आदर्श बजगाईंले लैंगिक समानता कायम गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको बताए । छात्राले निर्वाध रूपमा पढ्न पाउने वातावरण निर्माण गर्न परियोजना सञ्चालन गरिएको उनको भनाइ छ । “छात्राहरुले निर्वाध रूपमा पढ्न पाउनु पर्छ भन्ने हाम्रो विश्वास हो र यही वातावरण बनाउनका लागि हामीले यस परियोजना सञ्चालन गरेका हौं,” बजगाईंले भने, “भेन्डिङ मेसिन स्थापना भएपछि अहिले छात्राहरुले महिनावारीसम्बन्धी सामग्री नभएका कारण पढाइ छुटाउन परेको छैन ।” बैंकले परियोजनाको दोस्रो चरणसमेत सुरु गरेको जनाएको छ । दोस्रो चरणमा मुलुकभरका २४८ विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गर्ने लक्ष्य राखिएको छ । यसबाट करिब एक लाख २० हजार छात्रा लाभान्वित हुने बैंकको अपेक्षा छ । कास्कीको बेगनासस्थित श्री आनन्द ज्योति माध्यमिक विद्यालयकी स्वास्थ्य विषयकी शिक्षिका कमला शर्माका अनुसार विद्यालयमा महिनावारीका समयमा आवश्यक सामग्री सहज रूपमा उपलब्ध नहुँदा महिनावारी स्वच्छता व्यवस्थापनमा कठिनाइ हुने गरेको थियो । “अहिले हाम्रो विद्यालयमा त्यस्तो अवस्था छैन । छात्राहरुले चाहेको समयमा स्यानिटरी प्याड झिक्न सक्छन् र यसले उनीहरुमा आत्मविश्वास पनि बढेको मैले पाएकी छु,” उनले भनिन् । विद्यालयभित्रै सहज रूपमा सफा सामग्री उपलब्ध भएपछि छात्रा बिना अवरोध शैक्षिक क्रियाकलापमा सहभागी हुन थालेको शर्माले बताइन् । उनका अनुसार नबिल बैंकले ‘बिना लाज, बिना रोक’ नारासहित सञ्चालन गरेको परियोजनाले महिनावारी व्यवस्थापनसम्बन्धी चिन्ता घटाउनुका साथै छात्रामा सशक्तीकरणको भावना बढाउन सहयोग गरेको छ । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेको परियोजनाले महिनावारीलाई सुरक्षित र मर्यादित बनाउँदै छात्रालाई पढाइमा निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
















