राजनीतिक स्वार्थका लागि बीपीको अपव्याख्या गरियो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय बीपी कोइरालाका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति बढेको बताएका छन्। आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले बीपी कोइरालाको सम्पूर्ण राजनीतिक जीवन, विचार र मूल्यलाई नहेरी आफूलाई आवश्यक परेको सन्दर्भमा मात्रै बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति कांग्रेसभित्र देखिएको बताएका हुन्। पछिल्लो समय कांग्रेसका नेताहरूले आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’ को प्रसङ्गमा बीपी कोइरालालाई सम्झिने गरेको टिप्पणी उनले गरे। आफ्ना राजनीतिक निर्णय आफैँ गर्न नसकेर नेताहरूले बीपीको नामको सहारा खोजेको आरोप लगाउँदै उनले आफूलाई जहाँ चाहिन्छ, त्यहाँ बीपीलाई प्रयोग गर्ने प्रवृत्तिले उनको वास्तविक विचारलाई कमजोर बनाउने स्पष्ट पारे।

बीपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र सीमित गर्न नहुने उनले बताए। ‘हाम्रो परम्परा आफूलाई जहाँ निर चाहिन्छ, बीपी कोइरालालाई त्यहाँ निर प्रयोग गर्ने रह्यो,’ थापाले भने, ‘अहिले पनि ठाउँ(ठाउँमा भएका छलफलहरूमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको प्रसङ्ग एकदम व्यापक आइरहेको छ। नेताहरूले फेरि रातारात बीपीलाई सम्झिनुभएको छ।’ आफैँ अघि सरेर निर्णय गर्ने हिम्मत नभएपछि बीपीको सहारा लिने गरिएको उनले बताए। ‘काठमाडौँमा बसेर कुराकानी गर्दा बीपीले यसो भन्नुभएको थियो भनिन्छ,’ उनले थपे, ‘आज बीपीलाई मिसकोट गरिँदा र अपव्याख्या गरिँदा बीपीको आह्वानमा आन्दोलनमा उत्रेका पुराना अभियान्ताहरू अगाडि आएर वास्तविकताबारे बुझाउनुपर्छ।’ बीपीको राजनीतिक जीवन लामो र निरन्तर विकसित भएको उल्लेख गर्दै उनले लोकतन्त्र र सामाजिक न्यायप्रतिको बीपीको मूल प्रतिबद्धता कहिल्यै परिवर्तन नभएको बताए। उत्पादन, ग्रामीण विकास, साना उद्योग र प्रविधिको प्रयोगबारे बीपीले फरक समयमा राखेका धारणालाई अहिलेको विकास बहस र कृत्रिम बुद्धिमत्ता (एआई) को सन्दर्भसँग समेत जोडेर अध्ययन गर्न सकिने उनको भनाइ छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *