राणाविरुद्धको महाभियोग प्रकरण, भदौ १० मा अर्को सुनुवाइ
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाभियोग प्रकरणको रिटमाथि अर्को सुनुवाइ आगामी भदौ १० गतेका लागि तय भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार (भदौ ३) बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले महाभियोग प्रकरणको रिट आगामी १० गते सुनुवाइ गर्ने गरी हेर्दाहेर्दैको अवस्थामा रहेको जानकारी दिए । बहसमा सहभागी रिट निवेदकतर्फका कानुनविद्ले पूर्वप्रधानन्यायाधीश राणामाथिको महाअभियोग जीवितै रहेको दाबी पेस गर्दै प्रतिनिधिसभामा कारबाहीका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् ।
संघीय संसद्का तत्कालीन महासचिव भरतराज गौतमले राणालाई निलम्बन फुकुवाको पत्र दिएपछि सर्वोच्च अदालत बारका तत्कालीन अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य समेतले सर्वोच्चमा रिट दिएका थिए । अब महाभियोग प्रकरणमा भिन्नै रिट निवेदन दिएका वरिष्ठ अधिवक्ता डा।पुण्यप्रसाद खतिवडा र दिपकविक्रम मिश्र पक्षका कानुनव्यवसायीको बहस सकिएपछि सरकारका तर्फबाट प्रतिरक्षा हुने छ ।

















