नेशनल लाइफको ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स’ भव्य रूपमा सम्पन्न, उत्कृष्ट शाखा र प्रमुख सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२।०८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने ब्रान्च म्यानेजर्सलाई सम्मान गर्दै चालु आर्थिक वर्षका व्यावसायिक रणनीति, व्यवसाय विस्तार तथा कर्मचारीको क्षमता अभिवृद्धिसम्बन्धी छलफल र प्रशिक्षणसहितको ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स’ भव्य रूपमा सम्पन्न गरेको छ । गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा आयोजित चारदिने सम्मेलनमा कम्पनीका विभागीय प्रमुखसहित देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो । आर्थिक वर्ष २०८२र८३ मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालयलाई सम्मान गरिएको सम्मेलनमा अधिकतम प्रथम बीमाशुल्क संकलनलगायत विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा तथा ब्रान्च म्यानेजर्सलाई समेत सम्मान तथा प्रोत्साहन गरिएको थियो । कार्यक्रममा कम्पनी सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले कर्मचारीहरूले गरेको मेहनत र कार्यसम्पादनको प्रशंसा गर्दै उनीहरूलाई हौसला प्रदान गरिन् । उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गर्दै उनले भनिन्, ‘हामी तपाईँहरूको मेहनतको सम्मान गर्दछौं । निरन्तर सफलताको लागि पनि कामना गर्दैछौं ।’ उनले कर्मचारीहरूको योगदानले कम्पनीको प्रगति र आगामी यात्रालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रिले विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्न सफल ब्रान्च म्यानेजर्स तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे ।

‘नेशनल लाइफको वित्तीय अवस्था पनि एकदम बलियो बन्दै गएको छ र आउँदो दिनमा अझ सशक्त भएर अगाडि बढ्नुपर्छ’ सीईओ खत्रिले भने, ‘हामी नयाँ आर्थिक वर्षको सुरुवातसँग नयाँ यात्रा, नयाँ संकल्प, नयाँ अवसरमा एकजुट भएर उभिएका छौं । यो हाम्रो क्यालेन्डर परिवर्तन भएको दिन मात्रै होइन, यो हाम्रो सोच, हाम्रो प्रतिबद्धता, हाम्रो भविष्यलाई अझ उचाइमा पुर्‍याउने प्रण गर्ने सुअवसर पनि हो ।’ सम्मेलनका क्रममा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारमा देखिएका चुनौती, शाखा सञ्चालनका विविध पक्ष तथा कर्मचारीको क्षमता अभिवृद्धिलगायतका विषयमा व्यापक छलफल र प्रशिक्षण गरिएको थियो । सम्मेलनले नयाँ आर्थिक वर्षमा कम्पनीको व्यवसायलाई थप विस्तार गर्ने, बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउने तथा शाखा र कर्मचारीहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने रणनीति तय गर्न महत्वपूर्ण आधार प्रदान गरेको कम्पनीले जनाएको छ । चारदिने सम्मेलनले कम्पनीको आगामी व्यावसायिक रणनीति तय गर्नुका साथै शाखा तथा केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीबीच आपसी समन्वय, सहकार्य र सम्बन्धलाई थप मजबुत बनाएको थियो । सम्मेलनमार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा शाखाहरूलाई सम्मान र प्रोत्साहन प्रदान गर्दै आगामी दिनमा अझ प्रभावकारी र परिणाममुखी ढंगले अघि बढ्न उत्प्रेरित गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *