१२ तोला सुन निलेर काठमाडौं आए बंगलादेशी नागरिक, पक्राउको ५ दिनपछि दिशाबाट निस्कियो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेटभित्र सुन लुकाएर ल्याएको आरोपमा एक बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षीय बंगलादेशी नागरिक मोहम्मद रसेल हल्दार रहेका छन् । विमानस्थल सुरक्षा कार्यालयका अनुसार हल्दार गत साउन ३१ गते फ्लाई दुबईको उडान नम्बर एफजेट ११३३ मार्फत दुबईबाट काठमाडौं आएका थिए । विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्र पार गरी पार्किङ क्षेत्रतर्फ जाँदै गर्दा सादा पोसाकमा खटिएका प्रहरीले शंका लागेर उनलाई नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा हल्दारले करिब १५० ग्राम सुन (१२ तोला १० मासा) क्याप्सुल बनाएर निलेको स्वीकार गरेपछि उनलाई तत्काल स्वास्थ्य परीक्षणका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)लगिएको थियो ।
अस्पतालमा एक्स(रे गर्दा उनको पेटभित्र शंकास्पद धातु देखिएको थियो । सुरुवातमा शौच गराउँदा समेत उक्त धातु निकाल्न कठिन भएपछि उनलाई ५ दिनसम्म अस्पतालमै भर्ना गरेर राखिएको थियो । अन्ततः आज शुक्रबार शौच गर्ने क्रममा उनको पेटबाट क्याप्सुल आकारका दुईवटा पहेंलो धातु (सुन) बरामद भएको छ । बरामद गरिएको उक्त सुनको तौल करिब १५० ग्राम रहेको प्रहरीले जनाएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालका अनुसार पक्राउ परेका हल्दारलाई आवश्यक अनुसन्धान र थप कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।

















