आज १५०१ औँ मोहम्मद जयन्ती मनाइँदै

काठमाण्डौं । इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को १५०१ औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। मुस्लिम समुदायले पैगम्बर मोहम्मदलाई इस्लाम धर्मका अन्तिम सन्देष्टा तथा पैगम्बरका रूपमा मान्ने गर्छन्। उनको जन्म साउदी अरबको मक्कामा भएको थियो। पछि उनी मदिना गएका थिए। मुस्लिम समुदायको विश्वासअनुसार पैगम्बर मोहम्मदमाथि इस्लाम धर्मको पवित्र ग्रन्थ कुरान अवतरित भएको थियो। उनका उपदेश र शिक्षाले इस्लाम धर्मको विस्तार तथा मुस्लिम समुदायको धार्मिक र सामाजिक जीवनमा महत्वपूर्ण प्रभाव पारेको मानिन्छ। मक्का इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र तीर्थस्थल हो भने मदिनाको पनि विशेष धार्मिक महत्व छ। इस्लाम धर्मका पाँच आधारभूत कर्तव्यमध्ये हजसमेत एक हो। आर्थिक तथा शारीरिक रूपमा सक्षम मुस्लिमले जीवनमा कम्तीमा एकपटक मक्कामा हज गर्ने धार्मिक मान्यता छ ।

मोहम्मद जयन्तीका अवसरमा पैगम्बर मोहम्मदले दिएका शान्ति, सद्भाव, मानवता, समानता र सामाजिक न्यायसम्बन्धी शिक्षालाई स्मरण गर्ने गरिन्छ। जयन्तीका अवसरमा आज विभिन्न स्थानमा र्‍याली, सभा तथा धार्मिक कार्यक्रम आयोजना गरिँदैछन्। काठमाडौंस्थित नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ। यस्तै सरकारले मोहम्मद जयन्तीको अवसरमा आज नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबार सूचना जारी गरेर मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *