बाढी पहिरोबिच बुद्ध एयरको सहजीकरण, थप उडानदेखि निःशुल्क राहत ढुवानीसम्म
काठमाडौँ। गत बुधबार (भदौ १० गते) भोटेकोशी क्षेत्रमा गएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गम्भीरता जनाउँदै बुद्ध एयरले यात्रुका लागि हवाई भाडादर यथावत् राखेको जनाएको छ। कम्पनीले विषम परिस्थितिका बाबजुद यात्रुलाई सहज र सुलभ भाडादरमा सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो। बुद्ध एयरका अनुसार टिकट खरिद गर्नुअघि यात्रुले कम्पनीको वेबसाइट वा मोबाइल एपमार्फत उपलब्ध हवाई भाडादर हेर्न सक्नेछन्। वेबसाइट तथा मोबाइल एपबाट टिकट खरिद गर्दा यात्रुले थप तीन सय रुपैयाँ छुट समेत पाउने कम्पनीले जनाएको छ। यात्रुको चाप र आवश्यकतालाई ध्यानमा राख्दै बुद्ध एयरले भैरहवा, पोखरा र भरतपुरका लागि नियमित अतिरिक्त उडान सञ्चालन गरिरहेको जनाएको छ।
त्यसैगरी, बाढीपहिरो प्रभावित क्षेत्रमा राहत पुर्याउन आवश्यक सामग्री संकलन तथा हवाई ढुवानीका लागि पनि कम्पनीले गृह मन्त्रालयको निर्णयअनुसार निःशुल्क व्यवस्था गरेको जनाएको छ। कम्पनीले बाटोघाटो सहज नभएसम्म हाल कायम रहेको भाडादरमा कुनै परिवर्तन नगर्ने स्पष्ट पारेको छ। बुद्ध एयरले वर्तमान विषम परिस्थितिमा व्यावसायिक चुनौती आए पनि यात्रुलाई सहज, सुलभ र सस्तो हवाई भाडादर उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ। साथै, कतैबाट अत्यधिक महँगोमा टिकट बिक्री भइरहेको जानकारी पाएमा तत्काल कम्पनीलाई जानकारी गराउन यात्रुलाई आग्रह गरेको छ। त्यस्ता गतिविधि भेटिएमा नियमानुसार आवश्यक तथा कडा कदम चालिने बुद्ध एयरले जनाएको छ।
१. टिकट खरिद गर्नुअघि हाम्रो वेबसाइट वा मोबाइल एपमार्फत हवाई भाडादर ‘सर्च’ गर्न अनुरोध गर्दछौं ।
२. हाम्रो वेबसाइट तथा मोबाइल एपमा पहिलेकै जस्तो सहज एवं सुलभ भाडादर उपलब्ध छ ।
३. हामीले हिजोदेखि भैरहवा, पोखरा तथा भरतपुरका लागि नियमित अतिरिक्त उडान सञ्चालन गर्दै आएका छौं ।
४. वेबसाइट तथा मोबाइल एपबाट टिकट खरिद गर्दा थप रु. ३०० छुट प्राप्त गर्न सकिन्छ ।
५. राहत सामग्री संकलन तथा हवाई ढुवानीका लागि हामीले गृहमन्त्रालयको् निर्णणनुसार निःशुल्क व्यवस्था गरेका छौं ।
६. बाटोघाटो सहज नभएसम्म हाम्रो भाडादर यही नै हुनेछ ।

















