सहयात्री साकोसद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा १ लाख ११ हजार प्रदान
काठमाण्डौं । नयाँबानेश्वरमा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा रु १ लाख ११ हजार २३५ सहयोग हस्तान्तरण गरेको छ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जनधनको क्षति र विस्थापन भोगेका नागरिकको साथमा उभिनु सहकारीको सामाजिक उत्तरदायित्व रहेको जनाउँदै संस्थाले सञ्चालक समिति, लेखा समिति, कर्मचारी तथा सदस्यहरूबाट रकम संकलन गरी सहयोग गरेको हो। संस्थाका अध्यक्ष खेमराज सुवेदीले सहकारी केवल आर्थिक कारोबारमा सीमित नभई संकटको बेला व्यवहारमै समुदायको साथमा उभिने सामाजिक अभियान भएको जनाउँदै विपदमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै आफ्ना प्रभावित सदस्यलाई संस्थामा सम्पर्क गर्न आग्रह गरे। उनले सहकारीले अन्य सामाजिक संघसंस्था र नागरिकहरूलाई पनि आफ्नो क्षमताअनुसार प्रभावितको सहयोगमा जुट्न आह्वान समेत गरे ।
















