हातेमालो साकोसले विपद् राहत कोषमा दियो १ लाख ७३ हजार रकम
मकवानपुर । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि हेटौंडाको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ लाख ७३ हजार १ सय ९७ रुपैयाँ सहयोग गरेको छ । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढी प्रभावितका लागि संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरेको जनाएको छ । भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले विपद् बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले रकम प्रदान गरेको जनाएको हो । संस्थाका कर्मचारी, सदस्य, समिति तथा विभिन्न उपसमिति तथा संस्थाको कोष समेतबाट उक्त रकम सहयोग जम्मा गरेको जनाएको छ । संस्थाले आफ्नो यो सहयोगले प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै समुदायको सुख–दुःखमा साथ दिने प्रतिबद्धता पनि संस्थाले जनाएको छ।
















