जनसचेतन साकोसद्धारा रसुवाका बाढीपीडितको लागि सहयोग

दोलखाको वैतेश्वर गाउँपालिका ५, काब्रेमा मुख्य कार्यालय जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले रसुवाका बाढीपीडितहरुको सहयोगका लागि २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ योगदान गरेको छ । उद्दार, राहत र पुनर्स्थापनाको लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । संस्थाको सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीको एक दिनको बैठक भत्ता, कर्मचारीको दुई दिनको तलब र संस्थाको थप रकमबाट सहयोग जुटाइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले जानकारी दिए ।

संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिसेकेको उनको भनाई छ । संस्थाले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको शीघ्र खोजी र घाइतेको स्वास्थ्यलाभको समेत कामना गरेको छ। साथै, विपद्को समयमा सबैलाई जे जसरी सकिन्छ , सोही अनुसार जोडिन आग्रह गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विगतमा समेत विभिन्न समयमा सहयोग गर्दै आएको छ । सदस्य र समुदाय केन्द्रीत उक्त संस्थाले सहकारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *