जेनजी आन्दोलनले भाटभटेनीमा ९ अर्बको क्षतिः अझै आएन बिमाको पैसा

काठमाडौं । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण क्षति भएको भाटभटेनीको व्यापारमा उच्च प्रभाव परेको छ । जेनजी आन्दोलनको क्रममा विभिन्न स्थानमा रहेका भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरमा तोडफोड तथा आगजनी हुँदा कम्पनीको व्यापार अत्यधिक घटेको हो । तथ्याङ्कअनुसार भाटभटेनीको व्यापार २० प्रतिशतले व्यापार घटेको छ । भाटभटेनीको व्यापार सन् २०२५ मा १२ प्रतिशतले वृद्धि भई ३४ अर्ब १५ करोड ६० लाख रुपैयाँ पुगेको थियो । तर, गत आवमा जेनजी आन्दोलनको क्रममा २७ वटा शाखामध्ये ११ वटा स्टोर र एउटा गोदाममा पूर्ण क्षति पुग्यो । जसकारण कम्पनीको व्यापार गत आवमा साढे ६ अर्ब रुपैयाँभन्दा बढीले कम भएर २७ अर्ब ४७ करोड ६० लाख रुपैयाँको मात्रै कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा ३० अर्ब ६२ करोड रुपैयाँ, सन् २०२३ मा २९ अर्ब ७९ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा २६ अर्ब ८८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापारको तथ्याङ्क हेर्दा हरेक वर्ष व्यापार बढ्दो क्रममा थियो । तर, गत आवमा आन्दोलनको प्रभावले बढ्दो व्यापारमा ब्रेक लागेको हो । सन् १९९२ मा स्थापना भएको कम्पनीले ठूलो क्षमतामा सुपरमार्केट सञ्चालन गर्दै आएको छ । सन् १९८४ मा नक्सालबाट सानो व्यवसायको रुपमा सुरु भएको व्यापार अहिले देशभर साम्राज्य फैलिसकेको छ । कम्पनीको स्टोर काठमाडौंलगायत देशका ठूलाठूला सहरमा छन् । गत असारसम्ममा २७ वटा स्टोरमध्ये २२ वटा सञ्चालनमा छन् । जेन्जी आन्दोलनका क्रममा १२ वटा स्टोरमा क्षति भएकामा अहिले ४ वटा निर्माण भइरहेको छ । क्षतिका कारण केही शाखाहरु अस्थायी रुपमा बन्द हुँदा गत आवको व्यापारमा धक्का पुगेको हो । जेनजी आन्दोलनका क्रममा कम्पनीलाई ९ अर्ब रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको छ । जसमा ६ अर्ब रुपैयाँ मौज्दात क्षति तथा ३ अर्ब रुपैयाँ बराबरको सम्पत्तिमा क्षति पुगेको हो ।

कम्पनीले बीमा दाबीअन्तर्गतको रकम पाउन अझै बाँकी छ । मौज्दात क्षतिसम्बन्धी दाबी रकमको ३८ प्रतिशत र सम्पत्ति क्षतिसम्बन्धी दाबी रकमको ६ प्रतिशत रकम मात्र अग्रीम भुक्तानीका रुपमा प्राप्त भएको छ । कम्पनीले विगत केही वर्षदेखि शाखा विस्तारका लागि पुँजीगत खर्च गर्दै आएको छ । कम्पनी पुँजीगत खर्चका लागि ऋणमा निर्भर थियो । सन् २०२५ देखि उक्त ऋणको भुक्तानी क्रमशः सुरु भएपछि कम्पनीको कर्जा सेवा कवरेज क्षमता अनुपातमा केही कमी आएको थियो । सन् २०२५ मा कम्पनीको कर्जा सेवा कवरेज अनुपात १.२ गुणा थियो । तर, व्यापारसँगै नाफापन घटेपछि गत आवमा यस्तो अनुपात बढेर १.८ गुणा कायम भएको छ । कम्पनीले गत आवमा दीर्घकालीन ऋणको पुनर्संरचना गरी सावाँ भुक्तानी दुई वर्षका लागि स्थगित गरेको छ । यता सञ्चालन नाफा मार्जिनमा पनि सुधार भएको छ र कर्जाको ब्याजदरमा कमी आएको छ । कम्पनीले पुनर्निर्माणका लागि थप ऋण लिएको भए पनि कम्पनीको गियरिङ अनुपात १.५ गुणा मात्र रहेको छ । सन् २०२४ मा १.८ गुणा रहेको गियरिङ घट्नुले निर्भरता पनि घटेको बुझन् सकिन्छ । कम्पनीले कम्पनीको सहायक तथा सम्बद्ध कम्पनीहरुमा १ अर्ब ३३ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । जुन कम्पनीको कुल नेटवर्थको १३ प्रतिशत हो । कम्पनीको लिज दायित्वसमेत समावेश गरिएको एड्जस्टेड गियरिङ अनुपात २.१ गुणा रहेको छ ।

त्यस्तै, कुल बाह्य दायित्व तथा ट्यान्जिबल नेटवर्थ अनुपात २.८ गुणा रहेको छ । भाटभटेनीमा मिनबहादुर गुरुङको करिब ६० प्रतिशत र उनका श्रीमती सावित्री घले गुरुङको करिब ४० प्रतिशत स्वामित्व छ । बाँकी रहेको नाममात्रको हिस्सा अन्य ९ जना परिवारको सदस्यहरुको सामूहिक स्वामित्वमा छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १७ अर्ब २४ करोड ६६ लाख रुपैयाँको रेटिङ गराएको छ । भाटभटेनीले दीर्घकालीन कर्जाका लागि ९ अर्ब १४ करोड ४९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८ अर्ब १० करोड १७ लाख रुपैयाँको रेटिङ गराएको हो । जसमा कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले वाच विथ नेगेटिभ इम्प्लिकेसनबाट पनि हटाएर दीर्घकालीन कर्जाका लागि डबल बीप्लस र अल्पकालीनका लागि एफोरप्लस रेटिङ दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *