बाढी प्रभावित क्षेत्रमा एसटीएफ र सशस्त्र बलको टोली नियमित परिचालन

काठमाडौं । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीको एसटीएफ (स्पेसल टास्क फोर्स) र सशस्त्र प्रहरी बलको टोलीबाट उद्धार कार्य जारी छ । नेपाली सेनाको टोली भने मुख्य गरेर क्षतिग्रस्त हाइड्रोपावरमा फसेकाको खोजीमा जुटेको छ । एसटीएफ र सशस्त्रको टोली संयुक्त र छुट्टाछुट्टै पनि गरेर भोटेकोसी बाढीले सबैभन्दा धेरै मानवीय र भौतिक क्षति गरेको नुवाकोटको त्रिशूली, बेत्रावती, सोले, भैँसेलगायत बस्तीमा परिचालित छन् । नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा रहेको एसटीएफको टोली बाढीले डुबेका घरको भग्नावशेषभित्र पनि मानिस फसेको र जीवितै हुन सक्ने आशंकामा खोजीकार्यमा जुटेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एसटीएफ टोली उद्धार र ‘अपरेसन’का निम्ति खास मानिन्छ । बाढीको ११औँ दिन अर्थात् शनिबार भदौ २० सशस्त्र प्रहरी निरीक्षक सुमन विक नेतृत्वको टोलीले बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतले घरबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको जीवित उद्धार गरेको थियो ।

अन्यत्र पनि यसरी नै मानिस फसेका हुन सक्ने भएकाले खोजीकार्य जारी राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । राष्ट्रिय विपद् जोेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार (भदौ २१) बिहान सार्वजनिक गरेको बाढीपछिको तथ्यांकानुसार हालसम्म एक हजार ३४९ जनाको शव फेला परेको छ । चार हजार ९९६ जना बेपत्ता सूचीमा छन् । फेला परेका मध्ये हालसम्म ९८ शव आफन्तको जिम्मा लगाइएको छ । सनाखत हुन नसकेका शवको डीएसनए परीक्षणका निम्ति ‘स्याम्पल’ झिकाइएको छ । हालसम्म एक हजार २८६ शव र एक हजार १८६ आफन्तको डीएनए संकलन गरिएको नेपाल प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धारका निम्ति नेपाल प्रहरीका सात हजार ९७५, नेपाली सेनाका नौ हजार २८७ र सशस्त्र प्रहरी बलबाट चार हजार २०३ जना खटिएका प्राधिकरणले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *