भाद्र २६ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘अक्षरा’ले एउटा चलचित्र मात्रै होइन, समाजलाई नेपाली नारीको वेदनाको ऐना देखाउँने छ
काठमाडौँ । नेपाली कथानक चलचित्र ‘अक्षरा’को टिजर र ट्रेलर हेर्दा यो केवल मनोरञ्जनका लागि बनेको चलचित्र मात्रै नभई समाजका संवेदनशील यथार्थलाई पर्दामा उतार्ने एउटा अर्थपूर्ण प्रयास हो भन्ने अनुभूति हुन्छ। विवाह, पारिवारिक सम्बन्ध, अभिभावकीय निर्णय, महिलाको आत्मसम्मान र सामाजिक सोचजस्ता विषयलाई कथाको केन्द्रमा राखिनु चलचित्रको सबैभन्दा सकारात्मक पक्ष हो। टिजरदेखि नै न्यान्सी खड्काको प्रस्तुति निकै प्रभावशाली र स्वाभाविक देखिन्छ। उनको चरित्रमार्फत एउटी छोरी, श्रीमती र महिलाको भावनात्मक सङ्घर्षलाई बलियो ढङ्गले प्रस्तुत गरिएको छ।
सुशील सिटौलाको चरित्रमा देखिएको परिवर्तन र अभिनयले कथामा थप गहिराइ ल्याउने अपेक्षा जगाउँछ भने सुशील पोखरेलको उपस्थितिले पारिवारिक भावनालाई अझ बलियो बनाउने देखिन्छ। ट्रेलरले कथाको संवेदनशीलतालाई थप विस्तार गर्दै दर्शकमा चलचित्रप्रति उत्सुकता पैदा गरेको छ। विशेषतः छोरीको जीवनसँग जोडिएका निर्णयमा परिवार र समाजको जिम्मेवारीबारे सोच्न बाध्य बनाउने विषय उठाइएको देखिन्छ। समग्रमा, ‘अक्षरा’ नेपाली चलचित्रमा मनोरञ्जनसँगै सामाजिक सन्देशलाई जोड्ने प्रयासका रूपमा आशालाग्दो देखिन्छ। उत्कृष्ट अभिनय, भावनात्मक कथा र सशक्त प्रस्तुति कायम रह्यो भने ‘अक्षरा’ले दर्शकको मन जित्दै नेपाली चलचित्र क्षेत्रमा एउटा अर्थपूर्ण छाप छोड्न सक्ने बलियो सम्भावना देखिन्छ। विनयराज पौडेलले निर्देशनमा गरेको डेब्यु चलचित्र भए पनि पहिलो प्रयास मै तहल्का मच्चाउने निश्चित प्राय छ । देशमा अहिले भोटेकोशी नदीमा आएको विनाश लीला बाढीका पीडितहरूलाई फ्लिमले कमाएको १० प्रतिशत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने प्रतिबद्धता निर्माता टिमले गरेका छन् ।

















